साउन ६ -स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमित प्रहरी कर्मचारीहरुको गत साउन ४ गते स्वाब परीक्षणका लागि पोखरा लगिएको थियो । उनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलका अनुसार संक्रमण प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन् ।
प्रहरी कार्यालयभित्र रहेका रहेका सबै जनाको स्वाब परीक्षणका लागि लिइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा हाल ५५ जना प्रहरी कर्मचारी कार्यरत छन् । यसअघि फेदीखोला गाउँपालिकाका तीनजना पुरुष र गल्याङ नगरपालिकाका एकजना पुरुषमा कोरोना देखिएको थियो । गल्याङका संक्रमित गल्याङ सामुदायिक अस्पतालका डाक्टर हुन् ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । जसमध्ये १८३ जना निको भएका छन् भने दुईजना पुरुषले ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS