काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले श्रमिक सम्बन्धि सामाजिक सुरक्षा कोषको विषयमा श्रम रोजगार तथा सामाजिक
सुरक्षा मन्त्रीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा सचिबालय प्रमुख एवं प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, उपाध्यक्ष उत्तम राज उपाध्याय सम्मिलित टोलीले श्रम मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
टुकोनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा सामाजिक सुरक्षा योजना लागू गर्न नेपालमा क्रियाशिल ट्रेड यूनियन महासंघहरू, उद्योग व्यवसायीहरूबीच २०६७ साल मा सहमती गर्दै अगाडि बढ्ने निर्णय भएको भन्दै करिब नौ वर्षसम्म सामाजीक सुरक्षाकोषमा श्रमिक र रोजगारदाता सूचिकृत प्रकृया, योगदानकर्तालाई दिने सुविधा, वितरण विधी सम्बन्धमा दुई पक्ष, त्रिपक्षीय, वहुपक्षीय छलफल, गोष्ठी, सेमिनार भएको स्मरण गराएको छ ।
राज्यको तर्फबाट विधिसम्मत तरिकाले सबै पक्षको सहमतीमा आएको ऐन नियम सबै सरोकारवालाहरूबाट कार्यान्वयन गर्नेतर्फ उन्मुख हुनु सबै पक्षको कर्तव्य हुने हुँदा योगदानमा आधारीत सामाजिक सुरक्षा कोष वैज्ञानिक तवरबाट कार्यान्वयन गराउन ध्यानाकर्षण गराइएको छ ।
सरकारद्वारा सामाजिक सुरक्षाकोषको घोषणा समारोह २०७५ मंंसिर ११ गते सरकार, ट्रेड युनियन महासंघरू, उद्योगी व्यवसायीहरू, आईएलो, राजनीतिक पार्टीहरूको समेत उपस्थितीमा भएको सामुहिक दस्ताबेज भएपनि सर्वोच्च अदालतबाट कानुन विपरीत हुने गरी सेवा, सुविधा, पारिश्रमिक कटौती गर्न नपाउने फैसला धेरै पहिले नै भएकोले खाईपाई आएको सुविधा कटौती लगायत विषयमा नअल्मली कार्यान्वयन पक्षमा अग्रसरता देखाउन माग गरिएको छ ।
यातायात श्रमिक कोरोना महामारीबाट निकै प्रभावित भएको भन्दै स्वरोजगार श्रमिकहरूको निषेधाज्ञा अवधीभरको बैंक ब्याज मिनाह गर्न र यातायात श्रमिकहरू र असंगठीत क्षेत्रका श्रमिकहरूलाई राहत, रोजगारी, एवं खोपको प्रबन्ध मिलाउन माग गरिएको छ ।
यो संकटपूर्ण परिस्थितीमा सबै क्षेत्रसँग सम्बन्धित श्रमिहरूप्रती मन्त्रालयको गम्भिर ध्यनाकर्षणका लागि आग्रह गरेको छ ।
FACEBOOK COMMENTS