काठमाडौं, पुस २० – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १८ औं वार्षिक साधारण सभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख ९९ हजार ४ सय कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नरसिंहलाल चंखु, डमरु बल्लभ घिमिरे, अमृत रेग्मी, शिव प्रसाद पौडेल, इन्द्रकृष्ण श्रेष्ठ र उद्धव घिमिरेले आफ्नो मन्तव्य राख्नुहुदै वित्तीय संस्थाको उन्नती प्रगतिका लागि सल्लाह सुझाव दिनुभएको थियो ।
FACEBOOK COMMENTS