काठमाडौं, २७ जेठ – स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गरेका थिए ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।
तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको भने श्रीमती राईको दुईवटा बैंकमा १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । यस्तै तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ भने श्रीमती राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको छ ।
यस्तै राईले विभिन्न बैंकबाट ऋण लिएको र सो मध्ये केही तिरेको बिवरण पनि राखेका छन् । कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उल्लेख गरेका छन् ।
यस्तै तामाङसँग एउटा कार र मोटरसाइकल रहेको छ भने श्रीमती राईको पनि एउटा कार रहेको छ । उनले ल्यापटप २ थान र ३ थान मोबाइल रहेको जनाएका छन् ।
FACEBOOK COMMENTS