काठमाडौं, असोज ७ – राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड १९ को परीक्षणका लागि मानिसहरुको भिड लागेर अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले थप स्थानमा निशुल्क परीक्षणको व्यवस्था गर्ने भएको छ।
काठमाडौं उपत्यकाका अरु १० वटा प्रयोगशालामा तत्कालै कोभिड १९ संक्रमणको क्षेत्रबाट आएका मानिसका लागि नि:शुल्क आरटी पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधवार बिहान बसेको बैठकले पीसीआर परीक्षणका लागि टेकुमा देखिएको लाइनबारे छलफल भएको बताए। बैठकले काठमाडौंका १० वटा ल्याबमा निशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्थाबारे निर्णय गरेको छ।
‘आज बिहान यसबारे छलफल भएको थियो। अब १० वटा ठाउँमा निशुल्क पीसीआर गर्न ब्यवस्था गर्दै छौं,’ डाक्टर गौतमले भने। पीसीआर ल्याबबारे राम्रो जानकरी नहुँदा पनि टेकुमा भिड देखिएको उनको भनाई छ।
‘हामीलाई पनि सुरुमा थाह भएन यस्तो भिड छ भन्ने। त्यहाँ लाइन लाग्नेलाई पनि टेकुमा मात्रै नि:शुल्क हुन्छ भन्ने भयो। उनीहरुको परीक्षण रोगग्रस्त क्षेत्रबाट आएको भनेर गर्न सकिन्छ,’ गौतमले भने। सरकारी मापदण्ड अनुसार संक्रमणको लक्षण देखिएका तथा ट्रेसिङमा परेकाहरुको मात्रै अनिवार्य पीसीआर परीक्षणको ब्यवस्था गरिएको छ। काठमाडौंका घरभेटीहरुले बाहिरबाट आएकाहरुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेपछि टेकु अस्पतालमा सर्वसाधरणका लाइन देखिएको हो। टेकुमा रात दिन मानिसहरु परीक्षणका लागि प्रतीक्षामा छन्।
लकडाउन र निषेधाज्ञा व्यापार/ ब्यवसाय खुलाउनेगरी खुकुलो भएपछि काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रबाट आउनेहरुको क्रम बढदो छ।
FACEBOOK COMMENTS