काठमाडौं, पुस १ – कोभिड १९ का बीच पोखरामा सडक महोत्सवले भने निरन्तरता पाउने भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको छेकोमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल, (रेबान) पोखराले वर्षेनी सडक महोत्सव गर्दै आएको छ । यसवर्ष पनि आयोजकले महोत्सवलाई निरन्तरता दिने बताएको छ । तर, अहिलेको महोत्सव भने तीन दिनमात्र चल्नेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा पुसको १५ देखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । यो २२ औँ संस्करणको महोत्सव हो । यसअघिका वर्षमा महोत्सव पाँच दिनसम्म चल्ने गरेको थियो ।
तर, कोरोना कारण महोत्सवको समयावधि घटाइएको छ भने पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना हुने गौतमले जानकारी दिए ।
सरकार तथा पर्यटन विभागले जारी गरेको हेल्थ प्रोटोकल अनुसार नै महोत्सव गरिने, महोत्सवमा सहभागी हुने आन्तरिक पर्यटकहरुलाई पनि स्वास्थ्य सामाग्री सहित अवलोकनमा आउन आयोजकले आग्रह गरेको छ । महोत्सव भने यसअघिका वर्षमा झैँ वैदामदेखि हल्लनचोकसम्मको तीन किलोमिटर क्षेत्रमा नै हुनेछ ।
उक्त क्षेत्रमा सवारी निषेध गरिएको छ । तर, यसवर्ष कोमागाने पार्कमा लाइभ कन्सर्ट भने हुनेछैन, फनपार्क, लोकदोहरी कार्यक्रम पनि नहुने आयोजकले जनाएको छ ।
महोत्सव हुने क्षेत्रको बीचमा स्टेज राखेर सांस्कृतिक प्रदर्शन लगायतका कार्यक्रम हुनेछन । डिजिटल बोर्डमा कोरोनासम्बन्धी सचेतनामूलक सन्देश राखिनेछन । डुंगा दौड, टेनिस टुर्नामेन्ट, तारो हान्ने खेल, बिच भलिबल प्रतियोगिता भने सञ्चालन हुने गौतमले जानकारी दिए ।
हरेक नयाँ वर्षको अवसरमा मध्यरातमा हुने आतसबाजी चाहिँ गर्ने वा नगर्ने निर्णय भइनसकेको आयोजकले जनाएको छ । यसको लागि आयोजकले स्थानीय प्रशासनसँग समन्वय गर्ने जानकारी दिएको छ ।
प्रदेश सरकारसँग र जिल्ला प्रशासनको अनुमतिपछि नै महोत्सव आयोजना गर्न लागिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । महोत्सवबाट आयोजकले पोखरा खुल्लै रहेको र पाहुना स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको सन्देश दिन खोजिएको बताएका छन ।
कार्यक्रममा सहभागी अन्य पर्यटन व्यवसायीहरुले पनि सकारात्मक सन्देश प्रवाह गर्नको लागि महोत्सव आयोजन ागर्न लागिएको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले सुस्ताएको पर्यटन क्षेत्र केही हदसम्म गतिशिलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीहरुका नयाँ उमङ्ग र उत्साह थप्नुको साथै स्थानीय जनतामाझ कोरोनाले थकाएको तथा त्रसित बनाएको मानसिकतामा पुनर्ताजकीय ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।
महोत्सवमा गतवर्ष झैँ लाखौँको संख्यामा पर्यटक आउने आशा आयोजकले लिएको छ ।
FACEBOOK COMMENTS