काठमाडौं,चैत १६- चीनको ग्वान्झाउबाट कोरोना भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री आइतबार नेपाल आइपुगेको छ ।
स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको उपचारमा प्रयोग हुने १२ प्रकारका अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
विमानमा सबैभन्दा बढी कोभिड-१९ जाँच्ने र्यापिड डायग्नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्न प्रकारका पीसीआर रिएजेन्ट १० हजार थान ल्याइएको छ।
जसमा पोर्टेबल पीसीआर रिएजेन्ट किट्स २० हजार थान, पोर्टेबल पीएसआर मेसिन पाँच थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल एक हजार पाँच सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु ए- ९५ लगायत ३० हजार थान, विभिन्न आकारका ग्लोब एक्जामिनेसन एक लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी चार हजार थान रहेको छ ।
उक्त औषधिजन्य सामाग्री आइतबार नै सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा वितरण गरिने छ।
ज्याक माले पठाउने मेडिकल सामग्री मंगलबार काठमाडौं आइपुग्ने छ । अलिबाबा फाउन्डेसनले दिने सामान चिनियाँ जहाजबाट काठमाडौं ल्याउने बताइएको छ।
ज्याक माले नेपाललाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामग्री सहयोग गर्ने भएका छन्।
FACEBOOK COMMENTS