९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् ।
ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय हतारमा भएको बताए ।
निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत भएको पनि ढकालले जिकिर गरे । ‘मलाई आगामी चैतमा गरे पनि खासै फरक पर्दैन, मैले भन्न खोजेको विधानअनुसार गरौँ भन्ने मात्रै हो’ उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन । मलाई कुखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’
निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको तर सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको ढकालले बताए । ‘सरकारले छुट दिन्थ्यो होला वा रोक लगाउथ्यो होला, तर चिठीको जवाफ आउनुभन्दा पहिले नै हतार हतार निर्णय गरियो’ उनले भने ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको ढकालले बताए ।
यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे ।
ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायत सहभागी भएको थियो ।
FACEBOOK COMMENTS