काठमाडौं भदौ १५ — काठमाडौंको डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।
परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । ‘बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो,’ संक्रमितकी छोरीले भनिन्, ‘दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे ।’ संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन ।
ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । ‘घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्,’ उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् । वडामा फोन गर्दा अहिल्यै आउँछौं भन्छन् । तर, कोही आउँदैनन् । कहिलेसम्म हामी डरैडरमा घरभित्र थुनिएर बस्ने हो रु’
काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । ‘घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भइराख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन । अनि कुपन्डोलस्थित विध ल्याबमा जनही ४५ सय तिरेर आफैं परीक्षण गरायौं,’ ती पुरुषले भने ।
उनको घरमा १० जनाको परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आयो । स्थानीय तहको ट्रेसिङ टोलीले भने दस दिनपछि मात्रै उनीहरूलाई फोन गरेर स्वाब संकलन गराउने बताए । ‘स्वाब संकलन गर्न पनि कोही आएन । घरमा भाडामा बस्नेहरूले वडामा पुगेर आफैं स्वाब दिए,’ उनले भने ।‘ट्रेसिङमा परेका मान्छे घरबाहिर निस्केर आफैं परीक्षण गराउन, रिपोर्ट लिन जानुपर्ने अवस्था छ, कस्तो लापरबाही हो रु,’ उनले भने । लक्षण नभएका संक्रमित घरमै बसे पनि वडाबाट कहिल्यै फोन नगर्ने, बिरामीको अवस्थाबारे नसोध्ने गरेको उनले बताए ।
ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमित भेटिएको २४ देखि ४८ घण्टाभित्र कन्ट्याक्ट ट्रेसिङ गरिसक्नुपर्छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लागाएर ५ दिनभित्र उनीहरूको स्वाबको नमुना संकलन गरिसक्नुपर्छ । तर व्यवहारमा त्यस्तो देखिँदैन । ‘अहिले उपत्यकामा संक्रमण धेरै छ, ट्रेसिङ गर्ने जनशक्ति कम छ । सिस्टम पनि धेरै छ,’ डा।पाण्डेले भने, ‘एक जना संक्रमितलाई फोन गर्न कम्तीमा आधा घण्टा लाग्छ । संक्रमित नै धेरै भएकाले ट्रेसिङमा ढिलाइ भइरहेको छ ।’ तालिमप्राप्त जनशक्ति बढाएर कन्ट्याक्ट ट्रेसिङ छिटो र प्रभावकारी बनाउनतर्फ ईडीसीडीले पहल गरिरहेको उनले बताए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । तर आइतबार मात्रै काठमाडौंमा ३ सय ७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना गरी ४ सय २९ संक्रमित थपिएका छन् । कोरोना भाइरसलाई फैलनबाट रोक्नका लागि अति आवश्यक मानिएको कन्ट्याक्ट ट्रेसिङ भने उपत्यकामा व्यवस्थित र सही तरिकाबाट भइरहेको छैन । यही कारणले पनि संघीय राजधानी काठमाडौं मुलुककै ‘हटस्पट’ बन्दै गएको छ ।
उपत्यकामा हाल कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ८४ छ भने ३४ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २० छ । यसबाहेक ३ सय ९३ जना निको भए भने २१ जनाको ज्यान गयो । ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४४ छ, ६७ जना निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा ४ सय २० जना सक्रिय संक्रमित छन् । ५० जना भने निको भइसकेका छन् र ७ जनाको मृत्यु भएको छ ।
कन्ट्याक्ट ट्रेसिङको समन्वय गर्ने जिम्मा पाएको ईडीसीडीका सूचना अधिकारी तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीका अनुसार पनि स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । ‘हामीले त ट्रेसिङ कसरी गर्ने भनेर निर्देशिका बनाइदिने हो । ईडीसीडीमा देशभरको रिपोर्ट आइसकेपछि जिल्लाको स्वास्थ्य कार्यालयमा पठाइन्छ, त्यसपछि उनीहरूले नगरपालिका, वडा लगायतमा समन्वय गरेर सहजीकरण गर्छन्,’ उनले भने, ‘केही कमजोरी भएको होला । काम हुँदै नभएको होइन, भइरहेको छ ।’ उनका अनुसार अहिले रिपोर्टिङ समयमा नहुने प्रमुख समस्या छ । त्यसमा पनि सुधार गर्दै लगिएको उनले दाबी गरे । उपत्यकाभित्र अझै व्यवस्थित गर्न सम्बन्धित निकायका प्रमुखहरूसित पनि छलफल गरिएको उनले बताए ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले मानिसलाई कन्ट्याक्ट ट्रेसिङबारे बुझाउन नसकिएकोले पनि धेरै गुनासो आइरहेको बताए । कुनै टोलमा एक जनालाई पोजिटिभ देखियो भने टोल नै सिल गर्ने र भएभरका मान्छेको स्वाब छिट्टै संकलन गर्न भनी दबाब आउने गरेको उनले बताए । ‘हामीले त एकदम नजिकको सम्पर्कमा आएकाको पो स्वाब लिने हो, सबैको त सम्भव हुँदैन । स्वाब लिएको रिपोर्ट नआउन्जेल बाहिर नडुल्न सुझाव दिए पनि मान्दैनन् । त्यसैले पनि संक्रमण बढेको हुन सक्छ,’ उनले भने ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा आउने अर्को समस्या भनेको स्वाबको नमुना दिँदा भर्नुपर्ने फारमको विवरणमा सामान्य मान्छेले मात्रै होइन समाजका टाठाबाठाले पनि ढाँटेको भेटिएको छ । फारम भर्दा सूचना पनि पूरा नदिने समस्या देखिएको उनले बताए । स्थानीय तहमा कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेको उनले दाबी गरे । ‘उपत्यकाभित्र सबै नगरपालिकामा एक–एक जना कोभिड–१९ को समन्वयकर्ता भनेर २१ जनालाई खटाएका छौं । उनीहरूले कन्ट्याक्ट ट्रेसिङ, होम आइसोलेसन, केस व्यवस्थापन, रिपोर्टका कुरा नजिकबाट अनुगमन गर्छन्,’ उनले भने ।
काठमाडौं महानगरपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण टोलीका ‘फोकल पर्सन’ ज्ञानबहादुर ओलीले कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति अभाव या अरू कुरामा कमजोरी भएको हुन सक्ने बताए । ‘हामीले सकेसम्म कसैलाई पनि छुटाएका छैनौं । सुरुमा त पोजिटिभ केसलाई नै हो ध्यानमा राख्ने हो । धेरैमा बिरामीले सहयोग नै गर्छन्,’ उनले भने, ‘तर कहिलेकाहीँ संक्रमितले फोन नउठाउने, फोन अफ हुने त कोही जानकारी दिँदा पनि झिँजो मानेजस्तो गर्ने पनि पाएका छौं ।’
ओलीका अनुसार महानगरमा धेरै जसोको पूरा जानकारी नै नआउने भएकाले पनि समस्या हुने गरेको हो । ‘अस्पतालमा उपचार गर्न आएका मान्छेले पनि पूरा विवरण दिएका हुँदैनन् । काठमाडौं मात्र लेखिदिने तर, कुन वडा भनेर नखुलाउने पनि छन्,’ उनले भने, ‘केहीलाई त आफ्नो वडा नम्बर पनि थाह नभएको नि भेटेका छौं । त्यसैले पनि राम्रोसँग समन्वय हुन सक्दैन ।’ उनले काठमाडौंमा केस धेरै बढिरहेकाले फिल्डमै गएर कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएको स्वीकार गरे । ‘फिल्ड मै गएर काम गर्न नपाए पनि फोनबाटै धेरै काम भइरहेको छ,’ उनले भने ।
ओलीका अनुसार होम आइसोलेसनमा भएका बिरामीलाई नियमित फलोअप गरिएको र आवश्यक परे डाक्टरको परामर्श पनि दिइएको दाबी गरे । उनले कतिपय संक्रमित दोहोराएर परीक्षण गर्न आएको पनि बताए । उनले होम आइसोलेसनमा रहेकाहरू मापदण्ड नपुर्याई बसिरहेकाले संक्रमण रोक्न आइसोलेसन थपिए सहज हुने बताए । ‘काठमाडौंमा घरभाडामा बस्ने धेरै छन् र छुट्टै शौचालय पनि हुँदैन । संक्रमितले प्रयोग गरेपछि निःसंक्रमण गरेर मात्र प्रयोग गर्ने भनेर सिकाएका छौं,’ उनले भने ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने टिमका सदस्यहरूले रिपोर्टिङ गर्न नसकिरहेको स्वीकार गरे । ‘स्वास्थ्यकर्मीहरूले ट्रेसिङका फारम नै राम्ररी भर्न जानिरहेका छैनन् । च्यानल मिलिरहेको छैन,’ उनले भने । उनले पछिल्लो समय केस वृद्धि भएपछि फारम भर्दा धेरै समय लागेर ढिलो भएको दाबी गरे । स्थानीय तहमा स्वास्थ्यकर्मी परिचालनलाई वृद्धि गर्नुपर्ने उनको सुझाव छ ।
ललितपुर महागरपालिकाकी कोभिड–१९ फोकल पर्सन देवी गुरुङले केस बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङका लागि थप फलोअप गर्ने टिम बढाउन लागिएको जानकारी दिइन् । ‘ललितपुर महानगरपालिकाले सम्बन्धित निकायसँग राम्रो समन्वय गरेको छ, त्यस्तो समस्या छैन । हामीले आएका केसहरू राम्ररी ट्रेसिङ गरेका छौं,’ उनले भनिन्, ‘कहिलेकाहीँ कसैले पूरा ठेगाना नलेखिदिएर समस्या आउँछ । तर, सबै केस त्यस्तो छैनन् ।’
फातिमा बानु, बुनु थारु /कान्तिपुर दैनिक
FACEBOOK COMMENTS