काठमाडौं, १० मंसिर – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार बुधबारदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् । “नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्ने निर्णय भएको छ”, सुवेदीले भने ।
यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त दिन नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहे पनि नगरले यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS