१८ वर्षको कलिलो उमेरमै केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोच विकास गरेर अगाडि बढेका ध्रुव थापा अहिले हिमालय अर्गनाइजेशनका अध्यक्ष छन् । तर, आजको अवस्थामा आइपुग्न थापाले थुप्रै सानातिना र नवीनतम् व्यवसायहरूको सहारा लिएका छन् ।
उनी जतिबेला प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दै थिए । त्यसैबेला अध्ययन सँगसँगै आफूले केही गर्नुपर्छ भन्ने सोच उनमा पलायो । सोही बेला उनका बुबा भारतमा काम गरेर भर्खरै नेपाल फर्किएका थिए भने उनका दाजु सेकेण्ड ह्यान्डको मोटरसाइकल किन्ने र विक्री गर्ने काम गरिरहेका थिए ।
पारिवारिक संलग्नतालाई दृष्टिगत गर्ने हो भने स्वाभाविक रूपमा ध्रुब थापालाई जागिर वा व्यवसायमध्ये एउटा क्षेत्र रोज्नुपर्ने थियो । तर, एसएलसीपछि भर्खरै इन्टर (प्रवीणता प्रमाणपत्र तह) अध्ययन गरिरहेका उनले व्यवसायको क्षेत्रमा केही नयाँ ढङ्गबाट काम गर्नुपर्छ भन्ने सोचका साथ दाजुले गर्दै आएको कामलाई पृथक ढङ्गले अगाडि बढाउने योजना बनाए ।
उनको त्यही नवीनतम् सोचको उपजका रूपमा २०४७ सालमा सम्भवत् नेपालकै पहिलो रिकन्डिसन सोरुमका रूपमा ‘गण्डकी रिकन्डिसशन हाउस’को जन्म भयो । जतिबेला नेपालमा मोटरसाइकल चढ्नेको संख्या न्यून हुनाका साथै यामाहा, होन्डा र सुजुकीका नयाँ मोटरसाइकल सोरुम समेत भर्खरै खुल्न थालेका थिए । तर, नयाँ मात्र होइन पुराना मोटरसाइकलको समेत सोरुम सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिरहेका थिए ।
कास्कीको पोखरामा घर भएका उनी मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् । आफ्नो पढाइका लागि कुनै काम वा व्यवसाय उनका लागि बाध्यता थिएन । तर, अध्ययन सँगसँगै केही नयाँ काम पनि गर्नुपर्छ भन्ने आफ्नो सोचबाटै यो व्यवसायको जन्म भएको उनी बताउँछन् ।
यो व्यवसायका लागि घरमा प्रस्ताव राख्दा उनका दाजुले सहजै स्वीकार गरेका भए पनि बुबाले पत्याएका थिएनन् । भर्खर प्रवीणता अध्ययन गरिरहेको कलिलो उमेरको छोराले पढाइसँगै व्यवसाय गर्दा पढाई र व्यवसाय दुवै समस्यामा पर्ने चिन्ता उनको बुबामा थियो । तर, ध्रुब थापाभित्र भएको आत्मबल र बलियो सोचका कारण उनी आफ्नो योजनाबाट पछि हटेनन् र पोखरास्थित आफ्नै घरमा उक्त सोरुम सञ्चालन गरेरै छाडे ।
बिहानको कलेज पढेर दिउँसोमा आफ्नै व्यवसाय शुरू गरेका थापालाई सेकेण्ड ह्याण्डको व्यवसाय गर्दागर्दै पोखरामै रहेको सुजुकीको डिलरशीपको अफर आयो र उनले सुजुकीको डिलर खोल्न सफल भए । त्यसको केही समयपछि उनले कोरियन मोटरसाइकल ‘डेली’ को डिलरशीप पनि लिए । त्यही डिलरशीपले आफूलाई व्यवसायमा ‘ब्रेक’ दिएको उनी बताउँछन् ।
अन्य मोटरसाइकलको तुलनामा लक्जरी भएका कारण मूल्य महङ्गो भए पनि आयातअघि नै बुकिङ हुने र आउनेवित्तिकै सकिइहाल्ने अवस्था डेलीको थियो । यसरी अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि नेपालमै उत्पादन हुने हुलास मोटर्स र जापानिज डाइट्सो गाडीको डिलरशीप हुँदै हाल हिमालय अर्गनाइजेशनको नेतृत्वमा उनी पुगेका छन्, जुन फोर्ड गाडीको नेपालका लागि अधिकृत विक्रेता हो ।
व्यवसायका साथै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । लायन्स क्लब इन्टरनेशनलमार्फत उनले आफ्नो सामाजिक सेवालाई अहिले पनि जारी राखेका छन् ।
त्यससँगै उनले हाल रियलस्टेट क्षेत्रमा पनि राम्रै काम गरिरहेका छन् । सन् २००६ देखि रियलस्टेट क्षेत्रमा प्रवेश गरेका थापा हाल पोखराका नाम चलेका व्यवसायी हुन् । पछिल्लो समय उनले प्रोक्सी हस्पिटालिटी, ट्राभल एजेन्सी र पर्यटनसँग सम्बन्धित धेरै व्यवसायमा संलग्न भएर सफलता हासिल गर्दै अगाडि बढिरहेका छन् । नेपालमा कुनै पनि नीतिहरू स्थिर नभएको र हेरफेर भइरहने हुँदा प्रत्यक्ष प्रभाव आफूहरूमा पर्ने भएकाले विभिन्न क्षेत्रमा लगानी गर्न थालेको उनको भनाइ छ ।
अध्ययनका हिसाबले उनी कानूनका विद्यार्थी हुन् । तर, व्यापार वा नवीनतम् काममा रुची राख्ने भएकाले आफू व्यवसायको क्षेत्रमा प्रवेश गरेको उनी बताउँछन् । कुनै पनि काम गर्दा अरुले गरिसकेको भन्दा गर्न बाँकी र त्यही काम गर्नुपरे इन्नोभेटिभ सोचबाट गर्दा व्यापारिक रूपमा फाइदा र राम्रो सफलता मिल्ने उनको सुझाव छ ।
हरेक काममा अत्यधिक चुनौती हुन्छ, तर त्यसलाई सामना गर्ने आत्मविश्वास राख्दा अवश्य पनि सफलता पाइने उनी बताउँछन् । व्यवसायमा निरन्तर क्रियाशील थापा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालमा दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष र अटोमोबाइल डिलर एसोसिएशनको अध्यक्ष समेत बनिसकेका छन् ।
आगामी दिनमा नयाँ इन्टरप्रेनरहरूका लागि पनि आफ्नो व्यवसाय थप ‘आइकन’ बनाउने लक्ष्य राखेका थापा लायन्स क्लब इन्टरनेशनलमार्फत सामाजिक सेवा गर्दै आफ्नो छवि अन्तर्राष्ट्रिय रूपमा उच्च बनाउने योजनामा छन् । साथै यसअघि केन्द्रीय उपाध्यक्ष बनिसकेका थापाले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको भावी कार्यसमितिमा अध्यक्षको स्वाभाविक दाबी समेत गरिरहेका छन् ।
FACEBOOK COMMENTS