काठमाडौं, २९ चैत्र – नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले सबैसँग हातेमालो गर्दै निजी क्षेत्रको शिर उचो पार्ने गरि आफु अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको हालै सम्पन्न ७० औ साधारण सभाबाट अध्यक्षमा चुनिएका मल्लसँग कर्पोरेटखबरले राखेको जिज्ञासालाई समाधान गर्ने क्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । ’हाम्रा बिभिन्न संघबाट प्रतिनिधित्व गरेर चेम्बर कार्य समितीमा निर्वाचित भएर आउनु भएका साथीहरु, नगर, जिल्ला, वाणिज्य, उद्योग, वस्तुगत, द्धिरास्ट्रिय सबै संघ सम्बद्ध उद्योगी व्यवसायीहरुका राय सुझावका आधारमा अघि बढने छु भने साझा समस्यालाई समाधान गर्ने तर्फ र देशको अर्थतन्त्रलाई उकास्ने तिर मेरो ध्यान केन्द्रित हुनेछ’ आफ्नो धारणा राख्ने क्रममा नवनिर्वाचित अध्यक्ष मल्लले भने ।
नवनिर्वाचित अध्यक्ष मल्लले आफुले आफ्नो कार्यकाल अवधीमा देशलाई आत्मनिर्भरता तर्फ अघि बढाउदै आर्थिक रुपमा सबल तुल्याने मुख्य लक्ष्य लिएको पनि उनले स्पस्ट पारे । ‘मैले देश भित्र स्वरोजगार अभिब्रिद्धी, उद्यमशिलता विकास, आयात प्रतिस्थापन, निर्यात प्रबर्धन, कृषि, पर्यटन र जलस्रोतका लागि पुर्वाधार निर्माणको कामलाई प्राथमिकता दिन आवश्यक रहेको ठानेको छु भने कोभिडबाट सिर्जित बिषमताबाट आम उद्यमी व्यवसायीलाई त्राण दिनुपर्ने महशुश गरेको छु, मुख्य यिनै बिषयसँग सम्बन्धित रहेर सरकारसँग लबी गर्नेछु’ मल्लले आफ्नो धारणा प्रस्तुत गर्दै भने ।
देशको जिडिपीमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको उल्लेख गर्दै अध्यक्ष मल्लले सरकार र निजी क्षेत्र बीच सुमधुर सम्बन्ध कायम नहुँदा लगानीमैत्री वातावरण धुमिल बन्ने हुँदा आफुले देश भित्र व्यापार एवम् उद्योगमैत्री वातावरण कायम राख्दै अघि बढन सहजकर्ताको भूमिका निर्वाह गर्ने समेत बताए ।
को हुन् मल्ल ?
राजेन्द्र मल्लले २०६२ सालमा नेपाल चेम्बर अफ कमर्सको राजनीतिमा कार्यकारिणी सदस्यका रूपमा प्रवेश गरेका थिए । ततपस्चात उनीले चेम्बर कार्यसमितिमा एक कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल द्धितिय उपाध्यक्ष र दुई कार्यकाल वरिष्ठ उपाध्यक्षको भूमिका रहेर कार्यभार समालेका थिए । हालै सम्पन्न चेम्बरको ७० औ वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

मल्ल जहरसिंह पौवा शंखरापुरस्थित तिरउला रिसोर्ट र ठमेल ट्रेड सेन्टर एन्ड बुटिक होटेलका मालिक हुन् । उनी प्रभु इन्स्योरेन्स, मनाङ एयर, भक्तपुर ब्रिक्स एन्ड टायल्स इन्डस्ट्रिज र कान्तिपुर इन्जिनियरिङ कलेजका सञ्चालक, कृषि स्वावलम्बन प्रालि र जनरल इन्स्योरेन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका छन् । मल्लको सोपान मल्टिपल होल्डिङ कम्पनी लगायत बैंक, जलविद्युत र कृषि क्षेत्रमा समेत लगानी रहेको छ ।मल्ल शंखरापुर ४ साँखुका स्थायि बासिन्दा हुन ।

FACEBOOK COMMENTS