काठमाडौं, पुस २७ – नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले अडियो तथा भिडियो कल र म्यासेज सेवा सुरु गरेको छ ।
कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज सञ्चालनमा ल्याएको हो । आईओएस प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न थप केही समय कुर्नुपर्नेछ ।
हाल आईओएसका लागि आन्तरिक टेस्टिङको काम चलिरहेको भन्दै हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले आउँदो मार्च सम्म लाइभ गर्ने योजना रहेको जानकारी दिए । यससँगै भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायतका एपहरुको बीचमा स्वदेशी विकल्प तयार भएको छ ।
अब हाम्रो पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइल साइन अप गरी सहजै हाम्रो म्यासेज प्रयोग गर्न सक्नेछन् । यसमा प्रयोगकर्ताको गोपनीयताका लागि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर प्रयोग गरिएको छ ।
यसको अर्थ हाम्रो म्यासेज अन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन । यतिसम्म कि हाम्रोपात्रोले चाहेको अवस्थामा समेत प्रयोगकर्ताको म्यासेज हेर्न सक्ने छैन ।
हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुनेछ । एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिनेछ ।
यससँगै हाम्रो पात्रो नेपाली भाषामा म्यासेजिङ सर्भिस दिने पहिलो एप समेत बनेको छ । हाम्रो म्यासेज सेवा हाललाई नेपाल सहित भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र यूके मा प्रयोग गर्न सकिनेछ ।
अबको दुई तीन सातामा अन्य देशमा रहेका प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको छ ।
गुणस्तरिय तथा फास्ट इन्टरनेट भएको अवस्थामा हाम्रो म्यासेजमा एचडी अर्थात उच्च गुणस्तरमा भिडियो कल गर्न सकिन्छ । हाम्रो म्यासेज सेवासँगै हाम्रो पात्रोको इन्टरफेस तथा डिजाइन समेत परिवर्तन गरिएको छ ।
धेरै सामग्री एकै स्थानमा हुँदा खोज्न गाह्रो भएको प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न यसो गरिएको हो । अब भने प्रयोगकर्ताले हाम्रोपात्रोमा उपलब्ध सेवाहरु सहजै फेला पार्न तथा प्रयोग गर्ने सक्नेछन् ।
FACEBOOK COMMENTS