सुरेश परियार/ सिमकोट, ५ मंसिर
हुम्ला सदरमुकाम सिमकोट बजार महिनौं दुर्गन्धित बनेपछि सरसफाइ अभियान थालिएको छ । ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । शनिबारदेखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाइ अभियान सञ्चालन भएको हो ।
सिमकोट गाउँपालिकाको कार्यालय अगाडीदेखि बजारका मुख्य चोकको ढल तथा बजार सरसफाइ गर्ने कार्य गरिएको छ । नेपाल टुरिजम, युएनडिपी, रेडियो नेपालको आयोजना र सिमकोट गाउँपालिकाको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ ।
हिमाली जिल्ला हुम्ला पर्यटकीय क्षेत्रको एक मुख्य गन्तव्य रहेको र विगतदेखि जिल्लामा पर्यटनको आवागमन तीव्र रहेकाले शनिबारबाट करिब एक महिनासम्म सिमकोट बजारमा सरसफाइ गरिने छ ।

हुम्लामा अधिकांश बेरोजगारी युवा युवतीलाई एक महिनासम्म रोजगार दिने गरी सरसफाइ अभियान थालिएको हो । सरसफाइ कार्यक्रममा सहभागी मजदुरले सिमकोटदेखि नाम्खा गाउँपालिकाको हिल्सा पदमार्ग लगायतका सडकहरूमा सरसफाइ गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिन्जीन लामाले बताए ।


FACEBOOK COMMENTS