काठमाडौं, असोज १३ – मोरङको उर्लाबारी नगरपालिका–७ मा होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु भएको छ । युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा होटलमा खाजा खान आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । संखुवासभा घर भएका तामाङ उर्लाबारी–७ मा होटल सञ्चालन गरेर बसेका थिए ।
उनले होटलमा आएका मल्लिकलाई आइतबार राती ११:३० बजेतिर कुटपिट गरेर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाहिरैबाट मादक पदार्थ सेवन गरेर होटलमा श्रीमती कञ्चनसहित पुगेको अवस्थामा विवाद भएपछि तामाङले कुटपिट गर्दै धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएर ढलेका थिए ।
टाउकोमा चोट लागेका उनलाई उपचारका लागि तत्काल उर्लाबारीको गोदवारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको थियो ।
सिलिगुडी पुर्याएर उपचार थालिएका मल्लिकको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले बताए ।
FACEBOOK COMMENTS