काठमाडौं, भदौ १५ – कोभिड–१९ को महामारी फैलिरहेका बेला होम डेलिभरीलाई व्यवस्थित गर्न काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासित बैठक भएको छ। बैठकले सहायक प्रजिअ जनकराज भट्टको संयोजकत्वमा होम डेलिभरी मापदण्ड बनाउन समिति गठन गरेको छ।
समितिमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीका प्रतिनिधिको सहभागिता हुनेछ। समितिले ई कमर्स कम्पनीका तर्फबाट सुझाव लिएर निर्णय गर्नेछ।
गत बिहीबार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल ई कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरूको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकमा ई कमर्स कम्पनी, वाणिज्य, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए।
नेपाल ई कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरूको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ५ देखि बेलुकी ९ बजेसम्म निवार्ध संचालन गर्न दिनुपर्ने आग्रह गरेको बताए।
स्वास्थ्य मन्त्रालयले बालबालिका र ५० बर्ष नाघेका व्यक्ति घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ। होम डेलिभरीले सबैलाई सजिलो भएको भट्टको तर्क छ। साथै कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेट भन्दा कम समयमा भौतिक दूरी कायम गरी डेलिभरी गरिने कारण ई कमर्स सुरक्षित हुने उनले बताए।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी पसलहरूको भीडभाड भन्दा सुरक्षित हुने पठाओका संचालक असिममान सिंह बस्न्यातले बताएका थिए। त्यस्तै ई कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना संक्रमणको जोखिम कम हुनेछ।
भदौ ११ गते पूर्व सूचनाविना इन्फि स्टोर, ग्यापु मार्केट प्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौ अर्गानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका संचालक एवं डेलिभरी कर्मचारीसहित ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
FACEBOOK COMMENTS