काठमाडौँ । कोभिड-१९ को उच्च जोखिमका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि भौतिक उपस्थितिमै हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा गराउने गरी नयाँ तालिका सार्वजनिक गरेको हो।
यसअघि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तय गरेको भए पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सिफारिसमा सिसिएमसीले परीक्षा स्थगित गरेको थियो। हाल सबै परीक्षार्थी, शिक्षक, केन्द्राध्यक्ष र परीक्षामा सहभागिता जनाउने सबै सहभागीहरूलाई कोरोनाविरुद्धको खोप सरकारले उपलब्ध गराइसकेको हुनाले निर्धक भएर परीक्षा सञ्चालन गर्ने वातावरण बनेको परीक्षा नियन्त्रक कृष्ण शर्माको ठहर छ।
कक्षा १२ को परीक्षामा कुल ३ लाख ८४ हजार परीक्षार्थीले सहभागिता जनाउँदै छन्। देशभरि ४ हजार ३ सय १५ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा नियन्त्रक शर्माका अनुसार दुर्गम क्षेत्रका सबै परीक्षा केन्द्रमा प्रश्नपत्र हार्ड कपी नै पुर्याइसकिएको छ भने अन्य केन्द्रमा परीक्षाको दिन मात्र प्रश्नपत्र इमेलबाट पठाइने तयारी गरिएको छ। भौतिक उपस्थितमै सय पूर्णाङ्ककै परीक्षा हुने तय भएको आजको नागरिक दैनिकमा समाचार छ ।