काठमाडौं,मंसिर २० – नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा हालसम्मकै सर्वाधिक पदक जितेको छ । नेपालले बिहीबारको खेल सकिदासम्म ३६ स्वर्ण, २६ रजत र ३४ काश्य गरी कुल ९६ पदक जितेको छ । यसअघि आठौँ संस्करणमा ३१ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३औँ सागमा भंग गरेको छ
नेपालले सन् १९९९ मा काठमाडौंमा नै भएको आठौं दक्षिण एसियाली खेलकुदमा ३१ स्वर्ण, १० रजत र २४ काश्य जितेको थियो । कराते, तेक्वान्दोले पुनर्जीवन पाउँदा नेपालले १३ औं सागमा ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।
नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । त्यस्तै नेपालले करातेमा १० स्वर्ण पदक जितेको छ भने साइक्लिङमा ४ तथा उसुमा ५ स्वर्ण जितेको छ ।
बिहीबारको खेलहरु सकिदासम्म भारत पदक तालिकाको शीर्षस्थानमा छ । भारतले ५८ स्वर्ण, ४१ रजत र १९ काश्य गरी कुल ११८ पदक जितेका छ ।तेस्रो स्थानमा रहेको श्रीलंकाले १६ स्वर्ण, ३१ रजत, ५२ काश्य गरी ९९पदक जितेको छ । पाकिस्तानले १२ स्वर्ण, २१ रजत, २२ काश्य गरी ५५ पदक जितेको छ ।
बंगलादेशले ४ स्वर्ण, १० रजत र ४० काश्य गरी कुल ५४ पदक जितेर पाँचौ स्थानमा छ । माल्दिभ्सले १ स्वर्ण, २ काश्य गरी कुल ३ पदक जितेको छ । भुटानले ६ काश्य पदक जितेको छ ।
FACEBOOK COMMENTS