काठमाडौं, १ बैशाख – कोरोना महामारीका कारण नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताविहीन छ । राष्ट्रियस्तरका प्रतियोगिता केही मात्रामा भए पनि योबीचमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन ।
करिब १४ महिनापछि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले शनिबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।
१४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दा घरेलु टोलीलाई धेरै चुनौतीसहित सम्भावना पनि छ । श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि जिताउन सफल प्रशिक्षक डेभ ह्वाट्मोरको प्रशिक्षकत्वमा नेपाली टोलीले पुनरागमन गर्दै छ ।
नेपालले अन्तिमपटक गत फागुनमा एसीसी इस्टर्न रिजनमा थाइल्यान्ड, हङकड, सिंगापुर र मलेसियासँग टी–ट्वान्टी क्रिकेट खेलेको थियो । प्रतियोगितामा नेपालले सन्तोषजनक प्रदर्शन नगरे पनि क्रिकेटमा आफूलाई राम्रो लयमा ल्याउने प्रयास भने गर्यो । पाँच देश सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।
नेपाली टोलीले पाँच खेल खेल्दा ब्याटिङ लाइनमा भने पुरानै समस्या देखिएको थियो । नेपालका कुनै पनि ब्याट्सम्यान राम्रो चल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले दुई इनिङ्स खेल्दा जम्मा ८४ रन जोडेका थिए । यस्तै, कुशल मल्लले तीन खेलमा ५५ रन बनाएका थिए ।
त्यसअघि, नेपालले घरेलु मैदानमा नै आईसीसी डिभिजन–२ अन्तर्गत ओमन र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेलेको थियो । उक्त खेलमा नेपालले एक विश्व कीर्तिमान पनि राखेको थियो । जसमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो ।
१४ महिनासम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसके पनि गएको मंसिरदेखि घरेलु प्रतियोगिता भने निरन्तर भइरहेका छन् । जसले खेलाडीलाई आफ्नो प्रदर्शनमा निखारता ल्याउन सहयोग पुगेको छ । मंसिरयता नेपाली महिला तथा पुरुष टोलीका घरेलु प्रतियोगिता भइरहेका छन् ।
FACEBOOK COMMENTS