काठमाडौं,२० फागुन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गते आइतबारदेखि २० दिनसम्म कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो ।
उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो ।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो ।
त्यस अवसरमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो ।
त्यसक्रममा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए ।
दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि बुधवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको छ ।
FACEBOOK COMMENTS