काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बिमा समिति सभापति सौरभ ज्योतिले कोरोना भाइरस संक्रमणपछि जारी लकडाउनका कारण मुलुकका २० प्रतिशत व्यवसाय टाट पल्टिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज र नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको ‘भर्चुअल’ अन्तक्र्रियामा ज्योतिले यस्तो बताएका हुन्।
सार्वजनिक मञ्चमार्फत् यस्तो तथ्यांक सार्वजनिक गर्ने ज्योति सम्भवतः पहिलो व्यक्ति हुन्। उक्त तथ्यांकको पुष्टि गर्ने आधार भने उनले प्रस्तुत गरेका छैनन्। ‘लकडाउनले अर्थतन्त्र ठप्प भएको बेला झण्डै २० प्रतिशत व्यवसाय टाट पल्टेका छन्, बन्दै भएका छन्’, उनले भने।
नेपालमा उद्योग व्यवसाय सुरु गर्न सजिलो, तर बन्द गर्न गाह्रो भएका कारण आफूहरूले व्यवसाय बन्द गर्न चाहनेलाई छुट दिन माग गरेको बताए। ‘त्यस्ता व्यवसायलाई ब्याजमा छुट दिने, ऋणमा पनि केही सहुलियत दिने हो भने एउटा व्यवसाय बन्द भएको स्थितिमा अर्को क्षेत्रमा लगानी गर्न सक्छ। अर्थतन्त्र त्यसैबाट चलायमान हुन्छ’, उनले भने।
व्यवसाय बन्द गर्न चाहनेलाई सजिलो पारिदिने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको भए पनि त्यस्तो नीति नआएकोमा ज्योतिले गुनासो पोखे। तर, अन्य सरकारी आँकडामा भने कहिल्यै नखुल्ने गरी यतिधेरै व्यवसाय बन्द भएको विवरण प्राप्त नभइसकेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। ‘यति छोटो समयमा त्यति धेरै व्यवसाय टाट पल्टिने कुरा विश्वसनीय छैन’, अर्थमन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यस्तो कुनै तथ्यांक हामीले पाएका छैनौं। ’
पाँच भागमा एक भाग व्यवसाय टाट पल्टिने हो भने मुलुकमा निकै ठूलो आर्थिक संकट देखिइसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। ती अधिकारीले भने, ‘लकडाउनमा चल्न नसकेको उद्योग वा व्यवसायलाई टाट पल्टियो भन्ने मान्नु हुन्न। ’
-अन्नपुर्ण दैनिक
FACEBOOK COMMENTS