काठमाडौं,कार्तिक ७ -बंगलादेशले नेपालको २० भन्दा बढी हाइड्रोपावर आयोजनामा लगानी गर्न इच्छा देखाएको छ। नेपाल–बंगलादेशबीच सहसचिवस्तरीय संयुक्त प्राविधिक समिति (जेटीजी)को चौथो चरणको व्यापार वार्ताको क्रममा बंगलादेश सरकारले नेपालका २० भन्दा बढी हाइड्रोपावरमा लगानी गर्न इच्छा देखाएको हो। मंगलबारदेखि सुरु भएको यो वार्ता केही विषयबस्तुमा सहमति जनाएर बुधबार समापन हुनेछ।
नेपालको तर्फबाट वार्ताको नेतृत्व गरिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालकाअनुसार वार्ताको क्रममा बंगलादेश सरकारको प्रतिनिधित्व गरेकी अतिरिक्त सचिव सरिफा खानले नेपालको हाइड्रोपावरमा लगानी गर्न चासो व्यक्त गरेकी छन्।
ढकालकाअनुसार मंगलबार भएको वार्ताको क्रममा ११ प्रकारका विषयमा गहन रूपमा छलफल भएको छ। कार्गोको आवतजावत गर्ने खाका, मोटर भेहिकल प्यासेन्जर ट्राफिक, कृषि, खाद्यान्न तथा व्यापारसम्बन्धी हुने भनिएको पाँच प्रकारको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो।
यस्तै धागो, अलैंची र अम्लिसोजस्ता नेपाली उत्पादनको बंगलादेश ठूलो बजार हुन सक्ने भन्दै लाग्दै आएको ट्यारिफ र ननट्यारिक दर घटाउने विषयमा छलफल भएको छ। अत्यधिक उत्पादन भएको बेलामा पाँच रुपैयाँ किलो पनि मूल्य नपाउने नेपाली गोलभेंडा र बन्दाको बंगलादेशमा निर्यात, कृषि तथा औद्योगिक उत्पादनको बंगलादेशमा सम्भावित बजार पनि एजेन्डाको रूपमा छलफलमा ल्याइएको ढकालले जानकारी दिए। ढकालले भने, ‘सकारात्मक रूपमा घनिभूत छलफल भएको छ। बुधबार केही विषयमा सहमति हुन्छ।’
उनकाअनुसार पर्यटनको हिसाबले हवाईमार्गमार्फत बंगलादेशलाई जोड्न थप हवाई मार्गको मागसमेत नेपालले एजेन्डाको रूपमा छलफलमा ल्याएको छ। यसबाहेक रेलवे, हवाईमार्ग, सडकमार्ग र जलमार्गबाट नेपाल र बंगलादेशलाई जोड्ने विषयमा छलफल गरिएको छ। साथै एक अर्काको व्यापारलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने, नेपाली विद्यार्थीलाई भइरहेको भिसासम्बन्धी समस्या र बिप्पासम्बन्धी विषयले पनि छलफलमा प्रवेश पाएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS