काठमाडौं । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका छन् ।
बैंकहरूले हालसम्म ८५ अर्ब ३४ करोड बराबरको ऋणपत्र विक्री गरेर ६ देखि १० वर्षसम्मका लागि स्रोत जुटाएका हुन् । यो बैंकहरूको कुल चुक्ता पूँजीको ३० दशमलव ६४ प्रतिशत हो । राष्ट्र बैंकको वैशाखसम्मको तथ्यांकअनुसार यी २३ ओटा बैंकहरूको कुल चुक्ता पूँजी २ खर्ब ७८ अर्बको हाराहारीमा रहेको छ ।
केन्द्रीय बैंकको नीतिगत व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर पूँजी अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्छ । निक्षेपको अवधि छोटो हुने भएकाले ब्याजदरमा अस्थिरता देखापर्ने गरेको छ । यसलाई कम गर्न बैंकहरूलाई दीर्घकालीन स्रोतको आवश्यकता पर्छ । त्यसकै लागि राष्ट्र बैंकले ऋणपत्र अनिवार्य गरेको हो ।
बैंकहरूले यस्तो ऋणपत्र २०७९ असार मसान्तभित्र जारी गर्नुपर्ने व्यवस्था छ । यो सीमा पूरा गर्न अझै १ वर्ष बाँकी छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये मेगा बैंक, सेञ्चुरी, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड गरी ४ बैंकले ऋणपत्र जारी गर्न बाँकी छ । सिभिल र सेञ्चुरी बैंकले ऋणपत्र निष्कासन गर्न आवेदन दिएका छन् ।
सरकारी स्वामित्वका नेपाल बैंकले गत वैशाख २२ गतेदेखि साढे ३ अर्ब रुपैयाँ बराबरको वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेको छ ।
हालसम्म ११ ओटा वाणिज्य बैंकले न्यूनतम ऋणपत्र विक्री गरिसकेका छन् । यसमा एनआईसी एशिया, सिद्धार्थ, कृषि विकास, सानिमा, सनराइज, नेपाल इन्भेस्टमेन्ट, नेपाल एसबीआई, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, प्रभु बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल अझै १ वर्षभित्र ऋणपत्र निकाल्ने समय भएको बताउँछन् । बैंकहरूले तोकेको अवधिसम्म चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशतसम्मको ऋणपत्र जारी नगरेमा केन्द्रीय बैंकले कारवाही गर्ने भनेको छ । तर, वाणिज्य बैंकहरू एकआपसमा गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा २०७८ असारमसान्त भित्र उक्त ऋणपत्र जारी नगरेको अवस्थामा कारवाही नगर्ने भनेको थियो ।
हालसम्म सबैभन्दा बढी ऋणपत्र एनआईसी एशिया बैंकले विक्री गरेको छ । यसले रू। ९ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेको छ । यो बैंकको चुक्ता पूँजीको ७९ दशमलव ५८ प्रतिशत हो । सिद्धार्थ बैंकले चुक्ता पूँजीको ७४ दशमलव ४५ प्रतिशत ऋणपत्र विक्री गरेको छ । बैंकले चुक्ता पूँजी १० अर्ब ९६ करोड रहेकोमा ८ अर्ब १६ करोडको ऋणपत्र विक्री गरेको हो ।
सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि चुक्ता पूँजीको ५१ दशमलव ७१ प्रतिशत ऋणपत्र विक्री गरेको छ । उक्त बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रहेकोमा ८ अर्ब ४९ करोड ऋणपत्र जारी गरेको हो । ९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकले ४ अर्ब ७८ करोडको ऋणपत्र विक्री गरेको छ । यो चुक्ता पूँजीको ४९ दशमलव ३८ प्रतिशत हो ।
हालसम्म नेपाल इन्भेस्टमेन्टले ६ अर्ब ७५ करोड र सनराइजले रू। ४ अर्ब ऋणपत्र विक्री गरिसकेका छन् । नेपाल एसबीआई, नेपाल क्रेडिट एन्ड कमर्श, माछापुछ्रे, कुमारी बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गरिसकेका छन् । रू। ३ अर्बदेखि २ अर्बसम्मको ऋणपत्र विक्री गर्नेमा प्रभु हिमालयन, सिटिजन्स, प्राइम, बैंक अफ काठमाडौं, नबिल, नेपाल बंगलादेश र लक्ष्मी बैंक रहेका छन् । यस्तै, एनएमबी बैंकले १ अर्ब ६८ करोड र एभरेस्ट बैंकले १ अर्ब ७ करोड बराबरको ऋणपत्र विक्री गरिसकेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS