काठमाडौं, १८ मंसिर – हेटौंडा–११ स्थित राप्ती खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा–११ नवलपुर र १२, पदमपोखरी जोड्ने पक्की पुलको शिलान्यास गरेका हुन् ।
नवलपुर मुख्यमन्त्री पौडेलको वडा समेत हो । २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त पुल २६ करोड ४१ लाख ८७ हजार रुपैयाँ लागतमा निर्माणको जिम्मेवारी एलिट कन्स्ट्रक्सन काठमाडौं ठेकेदार कम्पनीलाई पाएको छ ।
पुलको शिलान्यास गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले शहरीकरणको विकास र समानुपातिक रुपमा प्रदेशभर विकासका आयोजनाहरु प्राथमिकताका आधारमा निर्माण भइरहेको बताए । ‘प्रदेश गौरवको आयोजनाको कामहरु समेत सुरु भइसकेका छन् । अहिले हामीले आवश्यकताका आधारमा समानुपातिक विकासतर्फ अग्रसर भइरहेका छौं,’ मुख्यमन्त्री पौडेलले भने ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा मागका आधारमा खानेपानी, पक्की पुल, सडक र विद्युतीकरणतर्फ विशेष धयान दिइरहेको बताए ।
FACEBOOK COMMENTS