असोज १५, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले देशका ३२ जिल्लाका ५० भन्दा बढी शहरमा एकैपटक फोरजी सेवा सुचारु गरेको छ । यसअघि काठमाडौं र पोखराका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध भएको टेलिकमको फोरजी सेवा अब देशका सबै महानगरपालिकासहित मुख्य शहरका प्रयोगकर्ताले पनि चलाउन पाउने भएका हुन् ।
बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमको फोरजी सेवाको औपचारिक उद्घाटन गर्नुभएको हो । काठमाडौं र पोखरामा फोरजी नेटवर्क सेवा शुरु गरेको झन्डै ४ वर्षपछि टेलिकमले रू. १९ अर्ब लगानीमा ३२ जिल्लामा यो सेवा विस्तार गरेको हो । कम्पनीले २०७३ पुस १७ गतेदेखि दुई शहरमा फोरजीको पहुँच पुर्याएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणको गत साउनसम्मको तथ्यांकअनुसार फोरजी सेवाका प्रयोगकर्ता ८ लाख १८ हजारभन्दा बढी छन् ।
सरकारी स्वामित्वको यस कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तारित परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मारेको टेलिकमले बताएको छ । टेलिकमले १९ देशभर फोरजी नेटवर्क विस्तार गर्ने जिम्मा २०७५ माघमा दुई चिनियाँ कम्पनीलाई दिएको थियो । टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले सम्झौता भएको ९ महीनामै सेवा शुरु गर्नु साधारण कुरा नभएको बताए । उनका अनुसार टेलिकमले बनाएको योजनाभन्दा अगावै पहिलो चरणमा ५० शहरमा सेवा विस्तार गर्न सफल भएको हो । ‘हामीले पहिलो चरणमा २० शहरमा फोरजी विस्तार गर्ने बताएका थियौं, तर ५० शहरमा पुग्यो,’ उनले भने ‘यो सबैको लागि गर्वको कुरा हो’ । टेलिकमले ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वन्सीबाट ५० शहरमा फोरजी सेवा दिने बताएको छ ।
टेलिकमका अनुसार फोरजी सेवाबाट उच्च गतिको डेटा इन्टरनेट चलाउन सकिन्छ । हाल विस्तार भएको फोरजी न्यूनतम ३५ एमबी प्रतिसेकेन्ड रहेको छ । अहिले घट्दै गएको टेलिकमको आम्दनीलाई यही फोरजीले बढाउने छ भने सेवा गुणस्तरमा पनि सुधार आउने छ । अहिले भइरहेका थ्रिजीका सेवाग्राही फोरजीमा आउने छन् । त्यसैगरी सेवा ग्राहीलाई डेटा इन्टरनेटको मूल्य सस्तो पर्ने छ ।
कुन–कुन शहरमा पुग्यो फोरजी नेटवर्क ?
टेलिकमका अनुसार बुधवारदेखि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा फोरजी सञ्चालनमा आएको छ । त्यस्तै चन्द्रगढी, बिर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटा, जनकपुर, जलेश्वर, मलंगवा, बारा, पर्सा, सिमरा, कलैया, गौरमा यो सेवा सुचारु भएको छ । यसैगरी धादिङ, भीमदत्तनगर, झलारी, पिपलाडी, तुलसीपुर, घोराही, नेपालगञ्ज, कोहलपुर, चौमला र अत्तरिया तथा कर्णाली प्रदेशको सुर्खेत लगाएतका शहरमा फोरजी सेवा शुरू भएको टेलिकमले बताएको छ ।
FACEBOOK COMMENTS