काठमाडौं, चैत १६ – नेपालले त्रिदेशीय फुटबलको फाइनल खेलमा विजय हासिल गरेको छ । सोमवार भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले ‘थ्री नेसन्स कप’को उपाधि हासिल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जीत हासिल गरेसँगै नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
खेलाडीद्वय संजोग राई र विशाल राईले गरेको गोलले नेपाललाई जीत दिलाएको हो । खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेका हुन् । नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् । नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।
३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमवार साँझ जारी खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । नेपालले गोल गरेपछि ओलीले उठेर ताली बजाएका थिए।
नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् । त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन्।
FACEBOOK COMMENTS