काठमाडौं, पुस ३ – जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी लिएका छन्।
आयोजना प्रमुखसहित कर्मचारी र डिपिआरको जिम्मा पाएको कन्सल्ट्यान्टका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रबार ऊर्जा मन्त्रालयमा प्रतिवेदनबारे जानकारी लिएका हुन्।
त्यस क्रममा डिपिआरको काम गर्दै आएको अमेरिकन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले प्रतिवेदनको प्रगतिबारे जानकारी गराएका थिए। भारद्वाज र ढकालले डिपिआरको काम करिब ८५ प्रतिशत सकिएको बताए।
बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कन्सल्ट्यान्टका तर्फबाट आएको छ। त्यसका लागि १२ सेप्टेम्बर २०२१ सम्मको समय माग गरिएको छ।
तर, मन्त्रालयले अध्ययन गरी आवश्यक समय दिने जवाफ दिएको छ। अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्त रुपमा डिपिआरको काम पाएका थिए।
सन् २०१६ मा तीन वर्षमा डिपीआर सक्ने गरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच जेभी उदयबीच सम्झौता भएको थियो। यसअघि डिपिआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोस्रो पटक डिपिआरको समयावधि थप भएको छ।
तर, अझै काम नसकिएको भन्दै ऊर्जामन्त्री पुन र जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित वनमन्त्री बस्नेतले छलफल गरेका हुन्।
छलफलमा मन्त्री पुनले डिपिआरको काम तोकिएकै समयमा नसक्नु कमजोरी भन्दै विगतका कमजोरी सच्याएर छिटो काम सक्न आग्रह गरे। अन्यथा डिपिआर निर्माणको सम्झौता खारेज हुन सक्ने उनले चेतावनी दिए।
‘विकासका काममा ढिला गर्ने प्रवृत्ति अरु नै छ’, मन्त्री पुनले भने ‘तर, प्रधानमन्त्री र मन्त्रीले गाली खाने अवस्था छ, अरुले काम बिगार्ने तर गाली हामीले खाने हुँदैन।’
काममा जटिलता भए सहजीकरणका लागि मन्त्रालय तयार रहेको उनले बताए। बहानाबाजी बनाएर डिपिआरमा थप ढिलाइ भए स्वीकार्य नहुने उनको चेतावनी छ।
जापानी सहयोग नियोग (जाइका) ले नलगाड जलविद्युत आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ।
डिपिआरमा उल्लेख भएअनुसार आयोजना सम्पन्न गर्न प्रसारण लाइनबाहेक करिब १ अर्ब ७० करोड (१४२० मिलियन अमेरिकी डलर) लाग्ने अनुमान गरिएको छ। यो रकम ऋणको ब्याज बाहेकको हो।
आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ। जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने भएको हो।
जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ।
नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ। बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्।
५ सय मिटर लम्बाई र २ सय ४८ मिटर अग्लो ड्याम बन्नेछ। जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ।
आयोजनामा चार वटा टर्वाइन हुनेछन्।
प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा १२ सय ३२ गिगा आवर ऊर्जा उत्पादन हुन्छ। आयोजनाबाट उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर शवस्टेशनमा जोड्ने योजना छ। आयोजनास्थलबाट कोहलपुरसम्म १ सय १२ किमी लामो प्रसारण लाइन निर्माण गरिनेछ।
FACEBOOK COMMENTS