असार २, सेयर बजारमा अस्वाभाविक मूल्यवृद्धि भएका चार दर्जनभन्दा बढी सूचीकृत कम्पनीको नाम सार्वजनिक गरे संगै ति कम्पनीहरु थप अध्ययन भइरहेको धितोपत्र बोर्डले खुलासा गरेको छ । प्राविधिक र आधारभूत विश्लेषणका आधारमा जोखिमयुक्त मानिएका कम्पनीको बोर्डले नामावली सार्वजनिक गरेको हो ।
नामावली सार्वजनिक भएका ५१ कम्पनीलाई ‘जोखिमयुक्त कम्पनी’ को संज्ञा दिँदै तिनमा लगानी गर्दा सचेत बन्न पनि बोर्डले लगानीकर्तालाई समेत आग्रह गरेको छ । नाम सार्वजनिक भएका कम्पनीमा धेरैजसो जलविद्युत् छन् । बाँकीमा विकास बैंक, फाइनान्स कम्पनीलगायत छन् । प्रायः कम्पनी चुक्ता पुँजी कम भएका र सर्वसाधारणमा कम सेयर जारी गरेका छन् ।
एक वर्षमा सूचीकृत संस्थाको मूल्यवृद्धि ३ सय प्रतिशत र सोभन्दा धेरैले बढेका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका कम्पनीहरूको सेयर मूल्य उच्च वृद्धि भएकाले ती कम्पनी जोखिमयुक्त रहेको बोर्डले प्रस्ट्याएको छ । ‘सम्बन्धित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकाले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीको परिसूचकरविवरण सार्वजनिक गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती कम्पनीहरूको सेयर कारोबारमा व्यापक चलखेल भएको पनि बोर्डको निष्कर्ष छ ।
‘ती कम्पनीका कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरजन्य गतिविधि भएको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ बोर्डले भनेको छ, ‘सोही आधारमा ती कम्पनीका कारोबार सम्बन्धमा समेत विस्तृत अध्ययन भइरहेको छ ।’ अध्ययनको सुझावका आधारमा दोषी देखिएका व्यक्ति वा संस्थालाई केकस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा निर्णय हुने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
FACEBOOK COMMENTS