स्याङजा, १० कार्तिक- नेपालीमा एउटा भनाई छ ‘मेहनत गरे माटो मै सुन फलाउन सकिन्छ’ । हो, यही भनाई चरितार्थ गर्दैछन् स्याङ्जाको गल्याङ नगरपालिका ९ साङलियाका युवा दिपक राना मगर । जसले बाझो जमीन भाडामा लिएर अदुवा खेती शुरु गरेर मनग्ये आम्दानी गर्न सफलता प्राप्त गरेका छन् । ५ वर्ष विदेश बसेर फर्केका रानाले करिब २५ रोपनी जग्गामा अदुवा खेती गरेका छन् । २ वर्ष अघि शुरु गरेको यो खेतीबाट उनले वार्षिक २५ लाखसम्म आम्दानी गर्छन् ।
स्वदेशमै रहेर छुट्टै पहिचान बनाउन सफल भएकामा निकै खुशी लागेको उनी सुनाउँदै रानाले भने, “मेहनत गर्ने हो भने सानो लगानीबाट पनि राम्रो मुनाफा पाउन सकिने प्रशस्त सम्भावनाहरु छन्, मैले २ वर्ष अघि अरुको जमिन भाडामा लिएर ५ लाख लगानीमा शुरु गरे, अहिले वार्षिक २५ लाख जति आम्दानी हुन्छ, यसले आम्दानी र पहिचान दुवै दिलाएको छ” ।
५ वर्षको विदेश बसाइबाट केहि उपलब्ध हासिल गर्न नसकेको सुनाउँदै उनले भने, “विदेशमा पनि सोचेजस्तो कमाइ भएन, धेरै दुःख पाए, स्वदेशमै केहि गर्छु भनेर फर्किए ।’ उनले थप्दै भने “गाउँमै अदुवा खेती शुरु गरे, अहिले आफूले गरेको खेतीबाट आम्दानी हुन थालेपछि म उत्साहित छु” । स्थानीय सरकार र सम्बन्धित निकायबाट उचित बजार व्यवस्थापन गर्न सके गल्याङ नगरपालिका अदुवा खेतीमा आत्मनिर्भर हुने निश्चित रहेको मगरको भनाई छ ।
पछिल्लो समय विदेशबाट फर्केर धेरै युवाहरु कृषि व्यवसायमा लागेको पाइन्छ । देशभर कृषि व्यावसायप्रति सकारात्मक धारणाको विकास पनि भइरहेको छ । स्वदेशमा बसेर केही हुँदैन भन्ने मान्यताविरूद्ध यो एउटा शुभ संकेत हो । पहिले रहरैरहरमा विदेश जाने, अनेकौँ दुःख–हन्डर खाने र पछि नेपालमै फर्केर केही गर्न चाहनेहरुको संख्या बढ्दो छ । व्यवसाय राम्रो फस्टाइरहे पनि यहाँको उत्पादनले यहीँ पर्याप्त हुन भने सकिरहेको छैन ।
केही वर्षयता कृषि व्यावसायतर्फ युवाहरुको आकर्षण बढे पनि प्राविधिक ज्ञानको कमिले हुने कठिनाइ पनि विद्यमान छ । कतिपयलाई प्राविधिक समस्याले गर्दा यो व्यवसाय उपलब्धिमूलक बन्न सकिरहेको छैन । तर, शिक्षित जनशक्तिहरुको पनि यो व्यवसायमा आकर्षण बढ्नु खुसीको विषय हो । मेहनत, धैर्य, आत्मविश्वास र लगानी गर्न सक्ने युवा उद्यमीलाई रोजगार गन्तव्यका रुपमा विदेशमा गएर रगत र पसिना बगाउनु आवश्यक छैन । मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ । (स्रोतको सहयोगमा)
FACEBOOK COMMENTS