काठमाडौं, जेठ १ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो ७ दिनमा १ हजार ९० जना संक्रमितको मृत्यु भएको छ भने ३२ हजार भन्दा बढी संक्रमितले भाइरसलाई जितेर निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो ७ दिनमा दैनिक औसत १५६ जनाका दरले संक्रमितको मृत्यु भइरहेको छ भने ४ हजार ६०८ जना संक्रमितले कोरोना संक्रमणलाई जितेका छन् । ७ दिनमा कुल ३२ हजार ३५८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
यस्तै सोही अवधिमा ६२ हजार ८०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल १ लाख २२ हजार ९२७ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यद्यपि पछिल्लो यो ७ दिन अर्थात् वैशाख २५ गतेदेखि ३१ गतेसम्मको सम्पूर्ण विवरणलाई केलाउने हो भने नेपालमा कोरोना भाइरस संक्रमणको गतिमा केही कमी आएको देख्न सकिन्छ । अघिल्लो हप्ता जुन रूपमा संक्रमितको संख्या बढेको थियो त्यो गति पछिल्लो ७ दिनमा निक्कै घटेको अर्थात् स्थिरझैं रहेको छ ।
अघिल्लो ७ दिनको अवधिमा ५५ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ३०० जना संक्रमितले ज्यान गुमाएका थिए । तुलनात्मक रूपमा यो साता संक्रमित र मृतकको संख्या बढी देखिए पनि संक्रमणको रफ्तारमा भने कमी आएको छ ।
यो तथ्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘संक्रमितको संख्या जुन गतिमा बढ्दै आएको थियो, पछिल्लो ५ दिनयता स्थिर छ । हिजो शुक्रबार त केही घटेको समेत छ ।’ यही अवस्था रहिरहे आउँदो साता संक्रमितको संख्या धेरै घट्ने अनुमान समेत उनको छ ।
वैशाख २५ गते १८ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ५३ जनाको मृत्यु भएको थियो भने ३ हजार ३७० जना डिस्चार्ज भए । वैशाख २६ गते १९ हजार ३८७ जनाको नमूना परीक्षण गर्दा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ८८ जनाको मृत्यु भएको थियो भने ४ हजार २२ जना डिस्चार्ज भए ।
वैशाख २७ गते १८ हजार ४११ जनाको नमूना परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन १३९ जनाको मृत्यु भएको थियो भने ४ हजार ७ जना डिस्चार्ज भए । वैशाख २८ गते २१ हजार ३१६ जनाको नमूना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २२५ जनाको मृत्यु भएको थियो भने ५ हजार २२५ जना डिस्चार्ज भए ।
वैशाख २९ गते २० हजार ७८६ जनाको नमूना परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन १६८ जनाको मृत्यु भएको थियो भने ४ हजार ४४४ जना डिस्चार्ज भए । वैशाख ३० गते २० हजार २४५ जनाको नमूना परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २१४ जनाको मृत्यु भएको थियो भने ५ हजार ५५ जना डिस्चार्ज भए ।
वैशाख ३१ गते २१ हजार ४७८ जनाको नमूना परीक्षण गर्दा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २०३ जनाको मृत्यु भएको थियो भने ६ हजार १३५ जना डिस्चार्ज भए ।
त्यसअघि वैशाख २४ गते ९१९६ जनामा संक्रमण र ५० जनाको मृत्यु, २३ गते ९०७० जनामा संक्रमण र ५४ जनाको मृत्यु, २२ गते ६५९ जनामा संक्रमण र ५ जनाको मृत्यु, २१ गते ७६६० जनामा संक्रमण र ५५ जनाको मृत्यु, २० गते ७४४८ जनामा संक्रमण र ३७ जनाको मृत्यु, १९ गते ७२११ जनामा संक्रमण र २७ जनाको मृत्यु तथा वैशाख १८ गते ५७६३ जनामा संक्रमण र १९ जना संक्रमितको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS