काठमाडौं । मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७-७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी सृजना गर्नेदेखि लघु उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र (उद्यम घर) स्थापना गर्दासम्म १ अर्ब ६४ करोड लगानी भएको छ । मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)’ मार्फत यस कार्यक्रमका लागि कुल २ अर्ब २४ करोड बजेट विनियोजन गरिएको थियो ।
मन्त्रालयका अनुसार एउटा नयाँ उद्यमी सृजना गर्दासम्म २५ हजारदेखि ३० हजारसम्म खर्च भएको छ । सरकारले ३६ हजार ४७९ जना नयाँ लघु उद्यमी सृजना गर्न १ अर्बसम्म खर्चिएको छ । यसैगरी मेड्पाअन्तर्गत नयाँ उद्यमीका साथै उद्यमीको स्तरोन्नति, उद्यम घर र तालीम दिएकालाई शीपअनुसारको प्रविधि र सामूहिक रूपमा उद्यम घर निर्माण गर्दा कुल उक्त खर्च भएको मन्त्रालयका उपसचिव दिनेशसागर भुसालले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) का कारण लक्ष्यअनुसार काम हुन नसकेको भुसालको भनाइ छ । उनले स्तरोन्नति गर्दा प्रति एक जनाका लागि १० हजारदेखि १२ हजारसम्म खर्च हुने किसिमले बजेट तोकेर पठाइएको जानकारी दिए । एउटा उद्यम घर बनाउन ५ लाख लगानी गरिएको छ । मन्त्रालयका अनुसार गत आवमा १२ हजार १६३ लघु उद्यमीको स्तरोन्नति, १० हजार २०४ लघु उद्यमीहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ, भने ३४ साझा सुविधा केन्द्र बनेका छन् ।
नयाँ उद्यमी सृजनामा जस्तै स्तरोन्नतिको लक्ष्य पनि पुगेको छैन । गत आर्थिक वर्षमा यस कार्यक्रमअन्तर्गत ३३ हजार जना उद्यमीको स्तरोन्नति गरिने भनिए पनि जम्मा ३७ प्रतिशत लक्ष्य प्राप्त भएको छ । साझा सुविधा केन्द्र बनाउने लक्ष्य पनि जम्मा २३ प्रतिशत पूरा भएको छ । मेड्पा कार्यक्रमले १५० ओटा उद्यम घर बनाउने लक्ष्य राखेकोमा जम्मा ३४ ओटा केन्द्र स्थापना भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS