काठमाडौं । वान एक्स बेटलाई प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमाथि प्रहरीले अनुसन्धान सिध्याएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
काठमाडौं प्रहरी स्रोतका अनुसार उनीहरुविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गर्न सरकारी वकिललाई राय दिइएको छ। सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नेछन् ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४,५ र ६ बमोजिम सजाय मागदावी गर्न राय दिइएको हो । युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर सट्टेबाजीलाई प्रवर्द्धन गरेको प्रहरीको दाबी छ । प्रोमो कोड प्रयोग गरेबापत उनिहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसासमेत प्राप्त गरेको दाबी गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत जेठ ३२ गते मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) लाई पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS