काठमाडौँ । उपराष्ट्रपति पदको उम्मेदवार तोक्न दशदलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बिहान साढे ८ बजेदेखि बसिरहेको हो।
बैठकमा दश दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकले गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्नेछ।
उपराष्ट्रपति पदमा गठबन्धनका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन्।
गठबन्धनमा सहमति हुनुअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमतले ममता झा र नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भनेका छन्।
तर नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ उमेरका कारण उपराष्ट्रपति पदका लागि अयोग्य छिन्। किनभने संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपतिको उम्मेदबार बन्न ४५ वर्ष पुगेको हुनुपर्छ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपति पदमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
FACEBOOK COMMENTS