मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने
कर्पोरट खबर
7:15 pm, बिहीबार, मंसिर २२, २०७९
काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मत परिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।
एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट ल्याएको छ ।
प्रत्यक्षमा छ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ । मधेसमा नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी आठ सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ ।
प्रत्यक्षमा छ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक÷एक सिट जितेका छन् ।
FACEBOOK COMMENTS