काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ सार्वजनिक गरेको छ ।
नीतिगत सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ बनाइएको विषयलाई उपलब्धिका रूपमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका छन् ।
यसमार्फत वार्षिक २० अर्ब रुपैयाँ बचत हुने उनको दाबी छ । उनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको बताएका छन् ।
कर्मचारीको सरुवा निवेदनदेखि निर्णयसम्म अनलाइनबाटै गरिने
सरकारले कर्मचारीको सरुवाको निवेदनदेखि निर्णय प्रक्रियासम्मलाई अनलाइन सिस्टममा लगेको घोषणा गरेको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
संघीय मामिला, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको अग्रसरतामा कर्मचारीको सरुवा प्रक्रियालाई अनलाइन प्रणालीमा लगिएको हो ।
सरकारका प्रवक्ता पोखरेलले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमा लाने प्रयासस्वरुप यस्तो कामको थालनी गरेको जानकारी दिएका हुन् । सरकारले नापी र मालपोतसम्बन्धी कामलाई पनि अनलाइन प्रणालीमा लगेको छ ।