काठमाडाैं । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ ।
आचारसंहिता उल्लङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई स्पष्टीकरण सोध्न सक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्ने साना या ठूलालाई छाड्ने भन्ने हँुदैन । आचारसंहिता उल्लङ्घनको विषय सबैलाई समानरूपमा लागू हुन्छ ।
निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वशनीयतामा आँच पु¥याउने खालका गतिविधिमा आयोगको ध्यानाकर्षण हुन्छ ।” निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति र निकायप्रति आयोग स्पष्टीकरण सोधिरहेको छ । आयोगले पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्ति एवं विभिन्न निकायलाई स्पष्टीकरण सोध्ने र आचारसंहिताबारे आवश्यक निर्देशन र सचेत गराइरहेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई हालै आयोगले सोधेको स्पष्टीकरणको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरङ्गित भएको थियो ।
रौतहट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता नेपालले आफ्नो चुनावी क्षेत्र रौतहटमा आयोजित एक कार्यक्रममा वैदेशिक रोजगारीमा जानेलाई फ्री भिसा फ्री टिकट पनि सुरु गरेको बताए । त्यसअघि आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो उम्मेदवारी मनोनयनका क्रममा पञ्चेबाजासहित कार्यक्रम गरेको सन्दर्भमा स्पष्टीकरण सोधेको आयोगको भनाइ छ । आयोगले पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल प्रतिनिधि उम्मेदवारजस्तै मन्त्रीको जिम्मेवारीमा रहेका एवं अन्य विशिष्ट व्यक्तिहरूदेखि हरेक उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेवापत धमाधम स्पष्टीकरण सोधिरहेको छ ।
FACEBOOK COMMENTS