पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा (एमाले)का पद्म गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । विसं २०५६, २०६४ र २०७० मा लगातार चुनाव जित्नुभएका कांग्रेस उम्मेदवार जोशीलाई २०७४ सालको निर्वाचनमा एमालेका गिरीले लगभग १३ हजार मतान्तरले पराजित गरेका िथए ।
त्यतिबेला नेकपा माओवादीसहितको बाम गठबन्धन थियो । गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गरेकामा पराजित जोशीले २६ हजार आठ सय १९ मत पाउनुभएको थियो । कूल ६७ हजार छ सय ८२ मत खसेको थियो । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय चुनावको नतिजालाई पछ्याउँदा पाँच पालिकामा कांग्रेसले नेतृत्व गरेको छ ।
कांग्रेसले कुश्मा र फलेबास नगरपालिका तथा जलजला, बिहादी र पैयुँ गाउँपालिकामा जितेको थियो । कांग्रेसले जितेका पालिका प्रमुख र पराजित दुई पालिका मोदी र महाशिला गाउँपालिकाको मत सङ्ख्या जोड्दा गठबन्धन दलले पाएको जम्मा मत ३७ हजार चार सय ८५ छ । एमालेले दुई गाउँपालिका मोदी र महाशिला जितेको थियो ।
उसले पाएको जम्मा मत ३४ हजार छ सय ६२ छ । यस्तै राप्रपासहित अन्य उम्मेदवारले पनि एक हजार चार सय ५९ मत प्राप्त गरेका थिए । वडा तहमा भने एमालेले ६१ वडामध्ये ३३ मा जितेको थियो भने कांग्रेसले २४ वडामा जितेको थियो । यसैगरी माओवादी केन्द्रले तीन वडामा जितेको थियो भने एउटामा स्वतन्त्रले जितेको थियो । गठबन्धन दलले अपिल–पत्र निकालेको छ ।
त्यसमा आगामी दुई वर्षभित्रमा भूमिहिनताको अन्त्यदेखि हरेक स्थानीय तहमा एउटा बारुण यन्त्र र एउटा एम्बुलेन्सलाई अनिवार्य गरिने उल्लेख छ । प्रत्येक वडामा विपद्का बेला सुरक्षित रहन सकिने सेन्टर र सार्वजनिक भवन, एउटा हेलिप्याडसमेत निर्माण गरिने उल्लेख छ । प्रत्येक नगरपालिकामा २५ देखि ५० श्यया तथा प्रत्येक गाउँपालिकामा १५ देखि २५ श्ययाको अस्पताल निर्माणका कुरा समेटिएका छन् ।
एमालेले घोषणापत्र सार्वजनिक गरिनसकेको भए पनि शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणका कामले प्राथमिकता पाउने उम्मेदवार गिरीको भनाइ छ । पर्वतमा एक लाख २२ हजार छ सय ४९ मतदाता छन् । अठार वर्ष पुगेर पहिलो पटक मताधिकार पाएका युवामा भने उत्सुकता देखिन्छ । उनीहरु पार्टीलाईभन्दा पनि राम्रो उम्मेदवारलाई भोट हाल्ने सोचमा छन् । प्रदेशसभातर्फ ‘क’मा गठबन्धनबाट माओवादी केन्द्रका सुदीप कुँवर तथा एमालेबाट भक्त कुँवर उम्मेदवार छन ।
गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनको परिणामअनुसार गठबन्धनका उम्मेदवारले एमालेकोभन्दा ९३२ मत बढी ल्याएका थिए । प्रदेशसभा ‘ख’मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी उम्मेदवार बन्नुभएको छ । कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्य सचिव रहिसकेका तिवारी यसअघि मनोनित सांसद थिए ।
एमालेले भने मित्रलाल बस्याललाई अघि सारेको छ । विसं २०७४ को स्थानीय निर्वाचनमा एमालेकोतर्फबाट पैयुँ गाउँपालिकाको अध्यक्षमा पराजित बस्याल एमाले गण्डकी प्रदेशको सचिवालय सदस्य छन । चार पालिकामा पालिका प्रमुखले पाएको मतअनुसार एमालेको भन्दा गठबन्धनको पक्षमा एक हजार आठ सय ९१ मत बढी देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र तिनको उम्मेदवारका विषयमा आचारसंहिता उल्लङ्घनको कुनै पनि उजुरी परेको छैन । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल र फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले निर्वाचन आचारसंहिताविपरीत कार्य देखिएकाले स्पष्टीकरण सोधेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । एक सय ४८ मतदान केन्द्रमा एक हजार सात सय ७६ कर्मचारी खटिने उनले बताए ।
FACEBOOK COMMENTS