काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गर्दै वडालाई हस्तान्तरण गरेको हो ।
पृतनापति शर्माले स्थानीय सरकार र समुदायले आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए ।
स्तरोन्नतिपछि स्थानीइ तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसूति सेवा लिन सक्नेछन् ।
“सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ”, उनले भने । सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराउनुुभएको थियो । प्रसूतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने उनले बताए ।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने बताए । कार्यक्रममा पनौती नगरपालिका–७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसूतिगृहको स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताए । वडा नं ७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो ।
FACEBOOK COMMENTS