काठमाण्डौ । १ मङ्सिर दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा एमालेकी शान्ता चौधरी चुनावी मैदानमा छन् ।
दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दै छन् ।
मेटमणि सहरी विकासमन्त्रीसमेत छन् । उनी दोस्रो पटक निर्वाचन लड्दै छन् । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उनी विजयी भएका थिए । विसं २०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक भएका थिए ।
दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएका थिए । अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दै छन् ।
तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पथ्र्यो । सङ्घीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बङ्गलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको छ । अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दै छन् । यद्यपि उनको मतदाता नामावली चाहिँ घोराही उपमहानगरपालिका–४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं २ हो ।
गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले साथ दिएमा मेटमणिलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको मत सबै आफुलाई प्राप्त हुने चौधरीको दाबी छ । “यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उनी भन्छन् , “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।” यो क्षेत्रमा २०७४ सालमा कांग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो । एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन ।
थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेका छन् । “थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उनले भने ।
क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गङ्गा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका छन् । उनी दुई पटक समानुपातिकतर्फबाट सांसद भए । विसं २०७० मा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भए भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए ।
दाङ क्षेत्र नं २ मा एमाले शङ्कर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच चुनावी टक्कर हुने देखिन्छ । विसं २०७० र २०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद थिए । विसं २०७२ मा सामान्य प्रशासनमन्त्री समेत भए। अहिले शर्माले पोखरेलसँग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दै छन् ।
एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लड्एका छन् । विसं २०५१ को प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पाएका थिए । उनले २०५६ सालको चुनावमा कृष्णकिशोर घिमिरेसँग हार ब्यहोरे भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीसँग पराजित भए । विसं २०६४ को निर्वाचनमा भने उनी समानुपातिक सांसद बने । त्यसबीचमा उनी मन्त्री भए भने विसं २०७४ को निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । त्यतिबेला उनले दाङ क्षेत्र नं २ को प्रदेशसभा १ बाट चुनाव जिते । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
विसं २०७४ मा कांग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार आठ सय ६९ र माओवादी केन्द्रले १७ हजार पाँच सय ८४ मत ल्याएको थियो ।
दाङ क्षेत्र नं ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग एमालेकी कोमल वलीले पहिलोपटक प्रतिस्पर्धा गर्दै छन् । गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जिते । विसं २०५१ मा तत्कालीन दाङ क्षेत्र नं ३ बाट एमाले नेता शङ्कर पोखरेलसँग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन् । उनको ठाउँमा गेहेन्द्र गिरीले चुनाव लडे र उनले जित हात पारे । विसं २०६४ मा दाङ क्षेत्र नं ५ बाट माओवादीकी सुष्मा शर्मा घिमिरेसँंग गिरी पराजित भए । विसं २०७० मा भने उनले चुनाव जिते । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला सचिव हीराचन्द्र केसीसँग पराजित भए । वली भने यसअघि एमालेबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य भएका थिए ।
विसं २०७४ को निर्वाचन अनुसार कांग्रेसले यो क्षेत्रमा ३० हजार पाँच सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार पाँच सय ४३ र माओवादी केन्द्रले १० हजार आठ सय पाँच मत पाएको थियो ।
FACEBOOK COMMENTS