काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । कोभिड महामारीको अवस्थालाई दृष्टिगत गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । सोही समारोहमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको न्यानो नानी परियोजना–२ का लागि सहयोग प्रदान गरेको छ ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राम्र प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा न्यानो नानी बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।
बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको न्यानो नानी परियोजनाको लागि रू. १० लाख २० हजार प्रदान गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष हरिप्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गरे । अबको यात्रामा पनि सोही अनुरुपको सहयोग प्रदान गर्न उनले आह्वान समेत गरेका छन् ।

साथै प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सबै क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नु पर्ने, उद्यमशीलता प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको धारणा व्यक्त गरे ।

१३औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योति परिवर्तनकारी कर्जा’ योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।
वार्षिकोत्सवकै अवसरमा बैंकले शून्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति ‘स्मार्ट सेभिङ’ खाता तथा ज्योति कन्टेन्टलेस कार्ड पनि सार्वजनिक गरेको छ ।
सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्ट तथा नायब महाप्रबन्धक सुशील कुमार शर्माले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकले आफ्नो मूल उद्देश्य दूरदृष्टि ध्येय र मूल्य मान्यताहरुको अधीनमा रही बैंकलाई सुदृढ सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरिकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्योति विकास बैंकले हाल १०५ वटा शाखा कार्यालय १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।