काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर २१ मा बरामद गरिएको १४ किलो सुनमा व्यवसायी विमल पोद्दारको ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन् ।
विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । तस्करीबारे छानबिन गर्न गठित समितिले १४ किलो सुन तस्करी र व्यवस्थापनमा चारवटा टिम सक्रिय रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा विमल पोद्दारको नाम उल्लेख छ । विमलको नाम प्रतिवादीहरूको बयानबाट खुलेको अभियोग पत्रमा देखिन्छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरूको बयानबाट नाम खुलेका अङ्कित अग्रवाल, राजेन्द्र बस्नेत, विमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ र गुरु भन्ने व्यक्ति लगायत अन्य संलग्न कोही कसैको यकिन नाम थर वतन तथा कसुरमा संलग्नता खुली आएका बखत पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम आवश्यक कारबाही गरिने समेत निर्णय गरिएको छ ।’
साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपमा पोद्दार २०७५ असार ६ मा पक्राउ परेका थिए । पोद्दार भारतीय नागरिक हुन् । उनी करिब ५ दशकदेखि नेपालमा छन् । न्यूरोडमा पहिले सुन पसल सञ्चालन गरेका पोद्दारले डिल्लीबजारमा सिल्भर सिटी र एड्रेस लाउन्ज पनि सञ्चालन गरेका छन् ।
साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिसँग उनले हुन्डी कारोबार गरेको स्वीकारेका थिए ।
सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले २०७५ साउन १६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा विमल पोद्दारलाई ‘ठुलो माछा’ किटान गरिएको थियो ।
FACEBOOK COMMENTS