काठमाडौँ । सरकारको चालू खाताको घाटा सुधारिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चालू खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ । जबकि, गत वर्षको सोही अवधिमा सरकारी चालू खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो ।
यसअनुसार एक वर्षको अवधिमा चालू खाता घाटामा व्यापक सुधार आएको हो । यस्तै, अघिल्लो वर्ष अमेरिकी डलरमा सरकारको चालू खाता ३ अर्ब ८६ करोडले घाटामा छ थियो । चालू वर्षको ८ महिनाको अवधिमा भने अमेरिकी डलरमा चालू खाता ३४ करोड ५७ लाख घाटामा छ । यो समेत उल्लेख्य सुधार हो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड कायम भएको छ । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोडमा थियो ।
यसबोहक, ८ महिनाको अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा छ ।
FACEBOOK COMMENTS