काठमाडौं । नेपाली कांग्रेसले आजदेखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
कांग्रेसको १५ औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ‘जरा अभियान’ सञ्चालन गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोडिने बताए ।
उनले पार्टीले ७७ वटै जिल्लामा प्रतिनिधि खटाई ती विषयहरूमा अन्तरक्रिया तथा संवाद गरेको समेत बताए । ती प्रतिनिधिहरूलाई अभियानसम्बन्धी जानकारी गराउनुका साथै जिल्लामा गर्ने कामका बारेमा स्पष्ट जिम्मेवारी तोकिएको उनले बताए ।
महामन्त्री पौडेलले बैशाख महिनाभर खटिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरणका लागि विधानअनुसारका व्यवस्था कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोजको १६ देखि १९ सम्म १५औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने कार्यतालिका बनाइएको थियो ।