काठमाडौं । सञ्चालनमा रहेका १६ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । २७ वटा बैंकहरुले तिहार अघि नै गत आर्थिक वर्ष २०७७-७८ को नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरिसकेका छन् । अन्य बैंकहरुले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् । केही बैंक लाभांश घोषणा गर्ने क्रममा रहेका छन् ।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश नबिल बैंकको रहेको छ । बैंकले १६ वटा बैंकमा सबैभन्दा बढी ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा बोनस ३३.६ प्रतिशत रहेको छ भने करसहित ४.४ प्रतिशतसहित ३८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नबिल बैंकपछि धेरै लाभांश दिने बैंकमा हिमालयन बैंक रहेको छ । धेरै लाभांश घोषणा गर्नेमा दोस्रो बैंकमा हिमालयनले २६ प्रतिशत लाभांश गरेको छ । जसको बोनस २१.३८ प्रतिशत र करसहित ४.२६ प्रतिशतसहित २६ प्रतिशत रहेको छ । १६ वटा बैंकमध्ये २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्नेमा २ वटा मात्रै बैंक रहेका छन् । अन्य बैंकको नाफा २० प्रतिशत भन्दा कम रहेको छ । केही बैंकको भने १० प्रतिशत भन्दा कम रहेको छ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७-७८ को नाफाबाट मुनाफाबाट सेयर धनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १३.३ प्रतिशत बोनस सेयर र करसहित ०.७० प्रतिशत नगद लाभांश दिने प्रसताव गरेको छ । कुमारी बैंकले अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा कम ८.६७ प्रतिशत घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र करसहित २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७७-७८ को नाफाबाट १५.५० लाभांश घोषणा गरेको छ । जसको बोनस १२ प्रतिशत र ३.५ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र करसहित ३.०३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १३.०६ प्रतिशत लाभाशं घोषणा गरेकोमा ११.२४ प्रतिशत बोनस र करसहित ४.७६ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार सिटिजन्स बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १२.९१ प्रतिशत बोनस सेयर र करसहित ३.०९ प्रतिशत नगद लाभांश दिने भएको छ । सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर १७ र करसहित ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश घोषणा गरेकोमा बोनस सेयर १० प्रतिशत र ३.५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंकले १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ६ प्रतिशत र करसहित ४.३२ प्रतिशत रहेको छ । एनएमबी बैंकले १५.८ प्रतिशत लाभांश दिने घोषणा गरेकोमा बोनस १२.५ प्रतिशत र करसहित ३.३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
नेपाल बैंकले १७ प्रतिशत लाभांश घोषणा गरेकोमा बोनस १४ र करसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यता एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत लाभांश घोषणा गरेकोमा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ । बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस्तै सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १४.२५ प्रतिशत बोनस र करसहित ०.७५ नगद लाभांश घोषणा गरेको छ । बैंकहरुले घोषणा गरेको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS