काठमाडौं । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई १६५ मिलियन अमेरिकी डलर करीब १९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।
सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो ।
एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो । एडीबीका अनुसार एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्याउने एडीबीको कार्यक्रम छ ।
एडीबीले यस ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान गरेको छ । यसले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुग्ने एडीबीका अध्यक्ष मासाटुगु आशाकावाले बताएका छन् । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप किन्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप किनी लगाउन अपरिहार्य भएको एडीबीका अध्यक्ष आशाकावाको भनाइ छ । अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेको एडीबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् ।
यस्तै, १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् । स्वाथ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको आनको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS