नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३, बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
केटी पक्षका सोवराती पवरियाले चलाएको लु १ त ७७०० नम्बरको पिकअपले ठक्कर दिँदा केटा पक्षका धवल पवरिया गम्भीर घाइते भएका थिए । पाल्हीनन्दन गाउँपालिका-३, कुश्माका ३५ वर्षीय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरू भएको विवादले झडपको रूप लिएको थियो । केही दिन अगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो । तर केही दिनपछि उनीहरू फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरू भएको हो ।
सोमबार केटी पक्षले केटाका दाइलाई कुटपिट गरेका थिए । सोही विषयमा आज झडप भएको हो । केटा पक्षका सयौँ मान्छेहरू मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो । पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ । केटी पक्षका सोवराती पवरियाले केटा पक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकोे सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।
FACEBOOK COMMENTS