काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनमाथि तत्कालिन सरकारले गरेको दमन र २४ गते भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् । उनले शहिद परिवार र घाइते भेट्न नगएको बारे स्पष्टिकरण दिदै भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढलेको उल्लेख गर्दै यो माग पुरा गर्न आफ्नो प्रयत्नले ठोस परिणाम ल्याएपछि बल्ल शहिद परिवार र घाइतेलाई भेट्न जाने बताएका छन् ।
उनले भनेका छन्- भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ र दमनको छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनु पर्छ । भाद्र २४ गतेको आन्दोलनमा एकातिर नौजवानहरुको रिस थियो आक्रोश थियो, परिवर्तनको चाहना थियो, त्यो भावना पवित्र थियो त्यो एउटा पाटो भयो तर संगसँगै कतिले यहि मौका छोपेर व्यापक रुपमा आफ्नो प्रतिशोध साध्ने काम गरेको छ, आफ्नो निहित स्वार्थ पुरा गर्ने प्रयत्न गरेको छ व्यापक घुसपैठ भएको छ । सरकारी र निजी सम्पतिको आक्रमण हेर्यौं भने हामीलाई धेरै कुरा बताउँछ ।
आन्दोलनको पवित्रा एकापट्टी छ र घुसपैठ अर्को पट्टि छ । त्यसैले घुसपैठको छानबिन हुनुपर्छ र सजाय हुनुपर्छ ।’ उनले कानुन अनुसार बिना प्रतिशोध चर्चित प्रकरण र ४६ साल यताका सांसद मन्त्रीको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । महामन्त्री थापाले कांग्रेसमा नेतृत्व परिवर्तनको मागबाट अब आफुहरु पछि नहट्ने स्पष्ट गरेका छन् । उनले यति ठुलो उथलपुथलपछि आन्दोलनको भावनालाई बोकेर हिड्ने पार्टी बनाउन पार्टी पुनर्गठन हुनुनै पर्छ । उनले यसअघि आफुहरुले उठाएका सहि मुद्धा बीचमै छाडेको बताउँदै अब बिचमा नछोड्ने बताएका छन् । उनले पार्टीको नियमित र विशेष महाधिवेशन गर्न सकिने बताउदै यो भन्दा अन्य विकल्प नभएको बताएका छन् ।
२- मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । जेनजी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ । सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।
३- लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरको हो । लिभरपुलको जितमा रयान ग्राभेनबेर्च र हुगो एकीटिकले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि इद्रिसा गुएयले एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले यस सिजनको प्रिमियर लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । लिभरपुलको ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै एभर्टनको भने यो यस सिजनमा दोस्रो हार हो । यो हारपछि ५ खेलमा ७ अंक रहेको छ ।
४- युरोपका तीन प्रमुख विमानस्थलहरू साइबर आक्रमणको शिकार भएका छन् । यसमा लन्डनको हिथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल समावेश छन् । साइबर आक्रमणले यी विमानस्थलहरूमा चेक-इन र बोर्डिङ प्रणालीमा अवरोध पुर्यायो, धेरै उडानहरू ढिलाइ भए र केही रद्द पनि भए । चेक-इन र बोर्डिङ प्रणालीमा अवरोधका कारण, यात्रुहरू म्यानुअल रूपमा चेक-इन गर्न बाध्य भएको र उडान तालिका अवरुद्ध भएको बताइएको छ । शनिबार दिउँसोसम्म, हिथ्रो विमानस्थल जाने र जाने १४० भन्दा बढी उडानहरू ढिलाइ भए । ब्रसेल्स जाने १०० भन्दा बढी र बर्लिन जाने ६० भन्दा बढी उडानहरू प्रभावित भएको बिबिसीले उल्लेख गरेको छ । ब्रसेल्स विमानस्थलका अधिकारीहरूका अनुसार, विमानस्थलको चेक-इन र बोर्डिङ प्रणालीको लागि जिम्मेवार सेवा प्रदायकलाई शुक्रबार राति साइबर आक्रमण गरिएको थियो । ह्याकरहरूले कोलिन्स एयरोस्पेसको प्रणालीहरूलाई लक्षित गरेका थिए । कम्पनीले यी विमानस्थलहरूमा चेक-इन र बोर्डिङ प्रणालीहरू प्रदान गर्दछ । कोलिन्स एयरोस्पेसको अभिभावक कम्पनी, आरटीएक्सले यो समस्यालाई छिटो समाधान गर्न काम गरिरहेको बताएको छ ।
५- अर्थ मन्त्रालयले सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ । शनिबार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरिय निर्णयबाट उक्त रकम निकासा गरिएको हो । लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका थिएनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको थियो । अर्थ मन्त्रालयले भनेको छ- ‘आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने अर्थमन्त्रीस्तरको निर्णयअनुसार ९ अर्ब ८० करोड निकासा गरिएको छ ।’
६- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष नेपालसहित विभिन्न देशमा दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशको उत्तम साइतबारे जानकारी गराएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११: ५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिक अनुसार, अक्टोबर २ मा भारतमा ११: ४९, अमेरिकामा अक्टोबर १ मा न्युयोर्कमा ११: २५, फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३ र क्यालिफोर्नियामा ११:११ रहेको छ । त्यस्तै क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा बिहान ११: ३३ मा रहेको छ । त्यसैगरी अष्ट्रेलियाको सिड्निमा अक्टोबर २ को बिहान ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ । २०८२ सालको दशैं असोज ६ गते घटस्थापना रहेको छ भने असोज १३ गते सोमबार फूलपाती रहेको छ ।
७- गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक पहिरो खस्न नरोकिएपछि पहिरो पन्छाउने काम अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भए पनि मुग्लिनपट्टि पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम रोकिएको छ । सडक डिभिजनले मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा उपकरण भएपनि सुरक्षाको दृष्टिकोणले पहिरो हटाउनको लागि समस्या भएको जानकारी दिएको छ । त्यस्तै नारायणघाटतर्फबाट भने एक लोडर र एक एक्स्ट्राभेटरले पहिरो हटाउने काम जारी रहेको छ । सडक अवरुद्ध भएपछि दशैका लागि काठमाडौँ बाहिर जाने हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
८- जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने भएको छ । नेपाल इन्जिनियर्स’ एसोसिएसनको विज्ञ टोलीले गरेको अनुगमनपछि मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको निष्कर्ष निकालेको हो । नेपाल इन्जिनियर्स एसोसिएसनका प्राविधिकहरूले आगजनी भएका सार्बजनिक भवनहरुको निशुल्क फिल्ड अस्सेसमेन्ट गरिरहेका छन् । एसोसियसनले आगलागीपछि संरचनामा भएको क्षतिको प्रारम्भिक निरीक्षण, जोखिम मूल्याङ्कन र संरचनागत सुरक्षा मूल्याङ्कनको महत्वपूर्ण कार्य गर्दै दिगो पुनर्निर्माण र विपद् व्यवस्थापनमा योगदान पुर्याइरहेका छन् ।
९- धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट पेश गरेका हुन् । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारको अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदान ७ करोड ६३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको छ । नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प रहेको थियो ।
१०- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका हुन् । मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनर्स्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिए । बैठकले नागढुंगा-सिस्नेरी- सुरुङ्गमार्गबाट उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरको छ ।
त्यस्तै उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने निर्णय भएको छ । त्यसैगरी मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।
आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने गर्ने तथा सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि-निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने निर्देशन दिएको छ ।
११- जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बारे गहन छलफल भएको बताइएको छ । साथै, आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्न संवैधानिक मार्ग, र भविष्यको राजनीतिक स्थिरताबारे समेत व्यापक विचारविमर्श गरिएको छ । दुवै नेताबीच कार्यगत सहकार्यलाई अझ सुदृढ गर्दै, क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीतिमा छलफल अगाडि बढाउने सहमति भएको छ। मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने साझा अठोट समेत व्यक्त गरिएको छ । नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका लागि वृहत् राजनीतिक शक्ति निर्माणको अपरिहार्यता औंल्याएका छन् ।
१२- डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई ६ अर्ब डलर बराबरको हतियार बेच्ने योजना बनाइरहेको खुलेको छ । ट्रम्प प्रशासनले योजनाको बारेमा कांग्रेसलाई जानकारी गराएको छ र स्वीकृति मागेको छ । गाजा युद्धका कारण इजरायलले तीव्र विश्वव्यापी आलोचनाको सामना गरिरहेको समयमा उसले अमेरिकाबाट यी हतियार किन्ने तयारी गरेको विषय बाहिर आएको हो । ट्रम्प प्रशासनले कांग्रेसलाई इजरायललाई लगभग ६ अर्ब डलर बराबरको हतियार बेच्ने योजना बनाएको जानकारी गराएको छ । यसमा ३.८ अर्ब डलर मूल्यका ३० एएच-६४ अपाचे हेलिकप्टरहरू समावेश छन्, जसले इजरायलको आक्रमण हेलिकप्टरहरूको हालको भण्डारलाई दोब्बर बनाउनेछ । यसमा १.९ अर्ब डलरको आक्रमण सवारी साधनहरूको बिक्री पनि समावेश छ । इजरायललाई यो योजनाबद्ध हतियार बिक्री एक अमेरिकी अधिकारी र प्रस्तावसँग परिचित अर्का व्यक्तिले खुलासा गरेका थिए । यी प्याकेजहरू दुई देखि तीन वर्ष वा त्योभन्दा लामो समयसम्म डेलिभर गरिने छैन। इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब र अमेरिकी सिनेट डेमोक्र्याटहरूले इजरायललाई आक्रामक हतियारको बिक्री रोक्न प्रयास गरे पनि, ट्रम्प प्रशासनले आफ्नो समर्थन जारी राखेको छ ।
१३- फिल्म ‘दर्पण छायाँ’ फेम जोडी उत्तम प्रधान र निरुता सिंह दुई दशकपछि फेरि एकसाथ आउने भएका छन् । पछिल्लो पटक सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा देखिएका उनीहरूले अब नयाँ फिल्म ‘महादशा’ मा एकसाथ आउन लागेका हुन् । फिल्मका निर्देशक किरण नेपालीले आफ्नो नयाँ फिल्म महादशामा उत्तम र निरुतालाई अनुबन्ध गरेको जानकारी दिएका हुन् । किरणले भनेका छन्- ‘जीवनमा तपाईंहरुकै ‘दर्पण छायाँ’ जस्तो फिल्म हेरेर प्रेरणा मिल्यो । आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुर्यो, खुसी र हर्ष छ नै । फिल्मलाई राम्रो गर्ने नै छौं ।’ किरणले ‘महादशा’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । हालै उत्तमले किरणको नयाँ फिल्म ‘कल्ली’बाट १३ वर्षपछि कमब्याक गरेका थिए । निरुताले भने फिल्म ‘३६ को आँकडा’बाट ६ वर्षपछि कमब्याक गरेकी छिन् । यही फिल्मको छायांकनका लागि हाल नेपालमा रहेकी उनीसँग किरणले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उत्तम र निरुता जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ । दशैंपछि छायांकन सुरू हुने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङ, रेअर राई लगायतको पनि अभिनय रहनेछ । मनिष गौतमको लेखन रहेको फिल्ममा राज के. शाह, श्याम मगर र अमला देवी राई निर्मातामा छन् ।
१४- सुदन गुरुङ नेतृत्वको हामी नेपालले महेश बस्नेतले सुदन गुरुङ एमाले प्रवेश गर्न कागेको भन्दै झुट बोलेको बताएको छ । सामाजिक सञ्जालमा महेश बस्नेतले सुदन गुरुङ एमालेमा आउन लागेको भन्ने आशयको भिडियो भाइरल भएपछि हामी नेपालीले सुदनले महेश बस्नेतसँग अहिलेसम्म कुरा नै नगरेको बताएको छ । साथै हामी नेपालीले आफुहरुले महेश बस्नेतलाई नचिन्ने र कुनै किसिमको सम्मान समेत नगर्ने उल्लेख गरेको छ । साथै हामी नेपालले महेश बस्नेतलाई यस्तो झुट नबोल्न चेतावनी दिदै शहिदको योगदानको अवमुल्यन नगर्न आग्रह गरेको छ । साथै आम जनतालाई महेश बस्नेतका गलत कुराको विश्वास नगर्न समेत अपिल गरेको छ ।
१५- अविरल वर्षासँगै खसेको पहिराको कारण अवरुद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड सुचारु भएको छ । नारायणघाट बुटवल सडक योजनाले शनिबार बिहानदेखि पहिरो हटाएर सडक सुचारु भएको जानकारी दिएको छ । विनयी त्रिवेणी गाउँपालिका –२, स्थित पैसठ्ठी मोड नजिक पहिरो खसेपछि शुक्रबार दिउसोबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । पानी परेपछि बिहीबार बिहानैदेखि दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको थियो । बाटो चिप्लो भएका कारण सवारी सहज रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । शुक्रबार दिउसो पहिरो खसेपछि भने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । अहिले पनि बाटो चिप्लो रहेकाले आफ्नो लेनबाट लामबद्द भएर मात्रा सवारी साधन सन्चालन गर्न सडक योजनाले अनुरोध गरेको छ ।
१६- नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा मलेसियन सुपर वुमन सिरिज र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको छ । त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्ने समेत कार्यक्रम रहेको छ । क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ । मलेसिया जाने नेपाली महिला टिममा इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।
१७- नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आइतबार क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ । कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ । साथै विभागले दिनको १ बजेदेखि सरसफाई गर्ने र सामुहिक सरसफाई कार्यमा सहभागी हुन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित उपस्थित हुन आग्रह गरेको छ ।
१८- भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । नेपालस्थित भारतीय दूतावासले नेपालको स्थितिमा विगत केही हप्ताको तुलनामा सुधार आएको उल्लेख गर्दै सडक यातायात र उडानहरू नियमित रूपमा सञ्चालन भइरहेकोले नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीहरूले जारी गरेका सल्लाहहरू पालना गर्न सल्लाह दिएको छ । भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू, आपतकालीन नम्बरहरू र इमेल ठेगानाहरू पनि जारी गरेको छ, आवश्यक परेमा दूतावासलाई सम्पर्क गर्न सल्लाह दिएको छ ।
१९- भारतले जारी एशिया कपमा भारतले ओमानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो । ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो । योसंगै एशिया कपको समुह चरणका खेल सकिएका छन् । समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन् । अब सुपर फोरका खेल आजदेखि शुरु हुदैछन् । आज पहिलो खेलमा बंगलादेश र श्रीलंका खेल्ने तालिका रहेको छ ।
२०- एक प्रमुख अमेरिकी खोप सल्लाहकार समितिले सबै वयस्कहरूको लागि कोरोना खोप सिफारिस नगर्ने पक्षमा मतदान गरेको छ । महामारी सुरु भएदेखि नै यो खोप आधिकारिक रूपमा अधिकांश मानिसहरूले वार्षिक प्रयोगको लागि अनुमोदन गरेको थियो । खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति (एसीआइपी) ले पनि कोरोना खोप सिफारिस गर्ने पक्षमा साँघुरो मतले मतदान गरेको थियो । दुई दिनको बैठकमा, समितीले संयुक्त दादुरा, मम्प्स, रुबेला र चिकेनपक्स खोपमा आफ्ना सिफारिसहरू परिमार्जन गरेको छ भने हेपाटाइटिस बी खोपमा मतदान स्थगित गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले जुनमा समितिका सबै १७ सदस्यहरूलाई बर्खास्त गरेर नयाँ सदस्यहरू नियुक्त गरेका थिए । यो निर्णयले स्वास्थ्यकर्मीहरूमा आक्रोश फैलाएको थियो । रोबर्ट एफ. केनेडी जूनियर कोरोनाविरुद्धको खोपको विरुद्ध बोल्दै आएका थिए । प्यानलले शुक्रबार कोरोना खोपको बारेमा छलफल गरेको थियो । अमेरिकामा कोरोनाको खोप फ्लु खोप जस्तै नियमित रूपमा सिफारिस गरिएको थियो । समितिले अब खोपको लागि व्यापक सिफारिस समाप्त गर्न मतदान गरेको छ, जसमा ६५ वर्षभन्दा माथिका मानिसहरू पनि समावेश छन् । यद्यपि, प्यानलले मानिसहरूले आफ्नो डाक्टरसँग परामर्श गरेपछि खोपको बारेमा आफ्नै निर्णय लिन सक्ने बताएको छ । गत मे महिनाको सुरुमा, स्वस्थ गर्भवती महिला र बालबालिकाका लागि कोरोना खोपको सिफारिस बन्द गरिएको थियो ।
FACEBOOK COMMENTS