प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार
कर्पोरट खबर
7:20 pm, बुधबार, कात्तिक ९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेस गरेको बन्द सूचीको जाँचबुझ गरी अन्तिम बन्द सूची प्रकाशन गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको बन्द सूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।
सो समानुपातिकतर्फ दलले पेस गरेको बन्द सूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेस गरेको बन्द सूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।
FACEBOOK COMMENTS