काठमाडौं,चैत ५- इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को ज्यान गुमाएका छन् । बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५०३ पुगेको छ। यो १६ प्रतिशतको वृद्धि हो ।
यस्तै ३१ हजार ५०६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। पछिल्लो २४ घन्टामा यो संख्या १२.६ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एक दिनअघि संक्रमित हुनेको संख्या २७ हजार ९८० रहेको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर करिब दुई लाख पुगेको छ। त्यस्तै ७ हजार ९७६ जनाले ज्यान गुमाएको छ।
चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।
सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ ।
चीनबाहिर पछिल्लो २४ घण्टामा आठ सय तीन जनाको ज्यान गएको छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS