काठमाडौं,बैशाख २ -कोरोना भाइरसका कारण दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै खराब हुने विश्व बैंकले बताएको छ ।
विश्व बैंकले दक्षिण एशियामा कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पार्ने प्रक्षेपण गर्दै दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा आर्थिक मन्दीमा देखिन चेतावनी दिएको छ ।
सबैभन्दा ठूलो असर माल्दीभ्समा देखिने छ। महँगो पर्यटनले धानेको त्यहाँको आर्थिक उत्पादन १३ प्रतिशतसम्मले घट्ने छ। त्यसै गरी दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारतमा १।५ प्रतिशत मात्रै वृद्धि हुने छ जुन शुरूमा प्रक्षेपण गरिएको भन्दा ३।५ प्रतिशतले कम हुन् आउँछ ।
भारत, बाङ्ग्लादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म कम भएपनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ।
दक्षिण एशियामा एक अर्ब ८० करोड मानिसहरू बस्छन् र यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्।
‘दक्षिण एशिया प्रत्युत्पादक असरको आँधीमा छ। पर्यटन छैन्, आपूर्ति तोडिएको छ, कपडाको माग छैन र ग्राहक एवम् लगानीकर्ताहरू निराश छन्,’ विश्व ब्याङ्कको प्रतिवेदनमा भनिएको छ।
बैंकका अनुसार कोरोना भाइरसको संक्रमणअघि दक्षिण एशियाको कुल आर्थिक वृद्धि ६ दशमलव आठ प्रतिशत हुने अनुमान थियो । तर, महामारीका कारण दुई दशमलव आठ प्रतिशत विन्दुले यसमा गिरावट आउन सक्ने बैंकको अनुमान छ ।
यस क्षेत्रका आठमध्ये आधाभन्दा बढी मुलुक गम्भीर आर्थिक मन्दीको चपेटामा पर्ने बैंकको आकलन छ । विश्व बैंकले यहाँको सरकारहरूलाई स्वास्थ्य आपत्कालमा आफ्ना नागरिकहरूलाई जोगाउन र द्रुत आर्थिक गतिका लागि तयार हुने गरी कार्य गर्नू सुझाव दिएको छ।
विश्व बैंकले वैदेशिक रोजगारीमा गएकाहरूका लागि अस्थायी रोजगार योजना, एवम् व्यापारी र व्यक्तिहरूका लागि ऋण राहत दिँदै अत्यावश्यक आयात निर्यातका लागि प्रशासनिक झन्झट कम गर्न सुझाव दिएको छ। एजेन्सी
FACEBOOK COMMENTS